काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको कदमविरुद्ध नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले आज (मंगलबार) देशैभर प्रदर्शन, जुलुसको आयोजना गरेको छ ।

काठमाडौं उपत्यकामा १३ स्थानबाट जुलुस निकालिएको छ। जुलुसको नेतृत्व स्थायी कमिटी सदस्यहरुले गरेका छन् । टेकुबाट युवराज ज्ञवाली, कुलेश्वरबाट बेदुराम भुसाल, कुपन्डोलबाट पम्फा भुसाल, नयाँ बानेश्वरबाट लीलामणि पोखरेल, मैतीदेवीबाट हरिबोल गजुरेल, नक्सालबाट जनार्दन शर्मा न्युरोडबाट अष्टलक्ष्मी शाक्य, रत्नपार्कबाट मुकुन्द न्यौपाने, त्रि-चन्द्रबाट योगेश भट्टराई, पुरानो बानेश्वबाट अमृत बोहोरा, बागबजारबाट गिरिराजमणि पोखरल, वाल्मीकि क्याम्पस प्रदर्शनी मार्गबाट गणेश शाहको नेतृवमा जुलुस निकालिएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेकपाले आजको प्रदर्शनमा काठमाडौंमा मात्रै एक लाख मानिस उतार्ने तयारी गरेको वरिष्ठ नेता झलनाथ खनालले यसअघि नै बताइसकेका छन् ।

आजको प्रदर्शनका लागि उपत्यकाका आसपासका जिल्लाहरूमा गरिने प्रदर्शन पनि काठमाडौं नै केन्द्रित गरिएको छ ।

पूर्वसिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे र भक्तपुरको जुलुस बानेश्वरबाट निस्कनेछ । मकवानपुर, चितवन, धादिङको जुलुस टेकुमा मिसिनेछ । नुवाकोट, रसुवाका लागि लैनचौर तय गरिएको छ । ललितपुरको जुलुस कुपन्डोलबाट सुरु भएर भृकुटीमण्डप आइपुग्ने नेकपाले जनाएको छ ।

भृकुटीमण्डपमा नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।