
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना कहरले धेरैको जीवनको लय नै फेरिदियो । कतिले रोजीरोटी गुमाए । नेपालमै पनि कोरोना महामारीमा हजारौँको जीवन पिल्सिएको छ । कोरोनाले असर नगरेको त्यस्तो कुनै क्षेत्र छैन ।
त्यसमा पनि सबैभन्दा धेरै र लामो असर मनोरञ्जन क्षेत्रमा देखियो । मनोरञ्जन क्षेत्रले कहिले पुरानै गति समात्छ यसै भन्न सकिने अवस्था छैन । यसैले पनि कलाकारितामा जमेका कलाकारले जीवन यापनका वैकल्पिक बाटा खोज्न सुरु गरेका छन् ।
फिल्मी क्षेत्रमा निक्कै जमेका कलाकार तथा निर्माता दीपकराज गिरी लेख्दा लेख्दैको फिल्मको स्क्रिप्ट छाडेर फार्म–हाउस खोल्ने तयारीमा जुटे । सरकारको अनुमतिबिना खुलेका चलचित्र घरमा दर्शकका पुग्ने अवस्था छैन । चलचित्र क्षेत्र पुरानै लयमा फर्किन कति समय लाग्छ त्यो कसैलाई थाहा छैन ।
सोही अन्योल गिरीमा पनि छ । त्यसैले अन्योलको समयमा पनि जोखिम मोलेर फिल्ममै लगानी गर्नुभन्दा फार्म हाउस निर्माण गरौं भन्ने सोचका कारण यता लागेको उनले बताए । ‘कोरोना र त्यसपछि सिर्जित अवस्थाले सबैलाई आफ्नो बारेमा सोच्ने अवसर दिएको छ,’ उनले भने, ‘मैले पनि आफ्नो बारेमा सोच्ने मौका पाएँ । लाग्यो गाउँघरमा बाउबाजेले गर्दै आएको खेती किसानी कर्ममा लगानी गरेर आधुनिक प्रविधिलाई अवलम्बन गर्दै अगाडि बढ्नु पर्छ ।’
उनले दहचोकमा रहेको आफ्नो पुख्र्यौली जग्गामा फार्म–हाउस खोल्न लागेका हुन् । कोरोना कहरका कारण विश्वको अर्थतन्त्र नै थिलोथिलो बनेको यो समय ‘चलचित्र’मात्रै भनेर बस्नु भन्दा पनि सम्भावना भएको क्षेत्रमा काम गर्नु पर्ने उनको धारणा छ ।
यही बेला अभिनेत्री वर्षा राउत तथा अभिनेता संजोग कोइरालाको नयाँ बानेश्वरमा ‘चिया अड्डा’को नयाँ शाखा सञ्चालनमा आयो । कलाकारिता क्षेत्रमा राम्रै माग भइरहेकी कलाकार हुन वर्षा राउत । चलचित्रका साथै म्यूजिक भिडियोमा पनि राम्रै पारिश्रमिक लिएर अभिनय गर्ने यी अभिनेत्री यसअघि नै ‘चिया अड्डा’मा रमाइरहेकी थिइन् । लामो समयपछि सिनेमा हल खुल्दै गर्दा वर्षाले ‘चिया अड्डा’को नयाँ शाखा बिस्तार गरिन् । अहिले उनी ‘चिया अड्डा’को नयाँ ब्रान्चमा भेटिन्छिन् ।
कोरोना कहरकै बीचमा चलचित्र निर्माता शरद श्रेष्ठले ‘मम मज्जाः स्वाद घर’को शुभारम्भ गरे । श्रेष्ठले नयाँ बानेश्वरमा सञ्चालनमा ल्याएको उक्त ‘मम घर’को उद्घाटनमा पुगेका अभिनेता प्रदीप खड्काले ममलाई ब्रान्डको रुपमा स्थापित गर्ने बताए ।
कलाकारले वैकल्पिक पेशा व्यवसाय रोज्न थालेको कोरोना कहरपछि मात्रै होइन । कलाकारितामा राम्रैसँग जमेका कलाकारले पनि वैकल्पिक पेशा अपनाएका छन् । एउटै चलचित्रबाट १५ लाखसम्म पारिश्रमिक लिने अभिनेत्री नम्रता श्रेष्ठ रोजाइकी कलाकार हुन् । चलचित्र पनि छानेर थोरैमा मात्रै काम गर्ने यी अभिनेत्री लामो समयदेखि रेष्टुराँ व्यवसायमा छिन् । उनले एट्टिक रेष्टुराँ तथा बार सञ्चालन गरेकी छन् ।
मेरी बास्सैका चर्चित कलाकार सुरज चापागाईँ ‘बान्द्रे’ फार्म हाउस खोलेर बसेका छन् । उनको फार्म हाउसमा बट्टाई तथा टर्की पाइन्छ । उनी बट्टाईको अण्डा तथा बट्टाईको बिक्रीबाट महिनामा लाखौं रुपैयाँ आम्दानी गर्छन् । टर्की र कुखुराको बिक्रीबाट पनि उनी राम्रो आम्दानी गर्छन् ।
अघिल्लो वर्ष वैवाहिक जीवनमा प्रवेश गरेकी अभिनेत्री ऋचा शर्मा अब्बल अभिनय गर्ने अभिनेत्री हुन् । यी अभिनेत्री पनि रेष्टुराँ व्यवसायी हुन् । उनले पाङ्ग्रो रेष्टुराँ सञ्चालन गर्दै आएकी छिन् ।
यसै वर्ष वैवाहिक जीवनमा प्रवेश गरेकी अभिनेत्री श्वेता खड्का चलचित्र निर्मात्री पनि हुन् । चलचित्र क्षेत्रमा यी अभिनेत्रीको राम्रै चर्चा छ । पहिलो पटक चलचित्र ‘कान्छी’मा लगानी गरेर सफल निर्मात्री समेत बनेकी यी अभिनेत्री पनि व्यापार व्यवसायमा छन् । श्वेताले हिमालयन जाभा कफी सप सञ्चालन गर्दै आएकी छिन् ।
एक समयकी चर्चित कलाकार हुन् कृति भट्टराई । सञ्चारकर्मीसमेत रहेकी कृति हाल अभिनय क्षेत्रबाट टाढा छिन् । कलाकारिताबाट टाढा रहेकी मोडल तथा कलाकार कृतिले अर्ग्यानिक एक्सप्रेस कफी सप खोलेकी छन् ।
अभिनेता गौरव पहारी पनि कलाकारितामा चिनिएको नाम हो । अब्बल अभिनय गर्न सक्ने यी अभिनेता रेष्टुराँ व्यवसायी पनि हुन् ।
पुराना अभिनेता सरोज खनाल कलाकारितामा जमेकै बेला अमेरिका पुगे । लामो समय अमेरिका बसेर फर्किएपछि पुनः अभिनय यात्रा थालेका यी अभिनेता पनि कलाकारिताका अलवा व्यवसाय पनि गर्दै आएका छन् । सरोजले ललितपुरको एकान्तकुनामा ह्याचरी उद्योग सञ्चालन गरेका छन् ।
कलाकार कामेश्वर चौरसिया कलाकारितामै रमाउन चाहन्थे । चलचित्रमा काम गरिरहेका कामेश्वरले झण्डै एक वर्ष कुनै पनि चलचित्रबाट प्रस्ताव नआएपछि आफ्नै व्यवसाय सुरु गरे । उनले माछा–भुजा बेच्ने पसल सञ्चालन गरे ।