
मानव शरीरको महत्वपूर्ण अंग हो कलेजो। शरीरलाई स्वस्थ बनाइराख्न कलेजोले धेरै काम गर्नुपर्छ। प्रोटिन बनाउने, रगतमा आन्द्राबाट आएका किटाणुलाई नष्ट गर्ने, शरीरलाई चाहिने ग्लुकोज र बोसोलाई भन्डारण गरी शरीरका अन्य भागमा पठाउने, मेटाबोलिजमलाई नियन्त्रण गर्ने लगायत महत्वपूर्ण काम कलेजोले गर्छ।
कलेजोले २ सय देखि ३ सय वटासम्म काम गर्छ। तर कुनै समय कलेजोले आवश्यकभन्दा धेरै वा थोरै काम गर्न सक्छ। धेरै काम गर्छ भने त्यसलाई समस्याको रुपमा लिनु हुँदैन। तर जब यसले आवश्यकभन्दा कम काम गर्न थाल्छ, त्यसपछि शरीरमा विभिन्न समस्या निम्त्याउँछ।
कुनै कारणवस कलेजोमा खराबी आउँदा निष्क्रिय हुन थाल्छ अर्थात् यसले गर्ने काममा ह्रास आउँछ। कलेजोमा खराबी आए पनि नयाँ कलेजो पलाउने क्षमता हुन्छ तर त्यसको पनि सीमा हुन्छ।
कलेजो धेरै नै बिग्रेको छ भने त्यसले पनि काम गर्दैन। कलेजोमा कति खराबी छ र शरीरले कति हदसम्म नियन्त्रण गर्न सक्छ भन्नेमा पनि भर पर्छ।
कलेजोले काम गर्न छाड्नुको प्रमुख कारक मादक पदार्थको अधिक सेवन नै हो। अधिक मात्रामा मादक पदार्थ सेवन गर्ने व्यक्ति यसको उच्च जोखिममा पर्छन्। त्यसपछि भाइरल हेपाटाइटिस पर्छ। यसमा पनि भाइरल हेपाटाइटिस ‘बी’ र ‘सी’ ले दीर्घकालमा असर गर्छ। कलेजोमा बोसो जम्मा हुँदा पनि यसले गर्ने काममा ह्रास आउन थाल्छ। यी बाहेक वंशाणुगत अनि जन्मजातले पनि यस्तो हुन्छ। यो समस्या नेपालमा बढ्दो छ।
कलेजोलाई कसरी स्वस्थ राख्ने ?
– मादक पदार्थ सेवन गर्नु हुँदैन। थोरै मादक पदार्थको सेवन गर्दा स्वस्थ भइन्छ भन्ने भ्रम छ, यो कुनै तथ्यमा आधारित छैन।
– भाइरल हेपाटाइटिसले रगतको माध्यमबाट कलेजोमा असर गर्ने हुँदा यसबाट बच्न खोप लगाउनुपर्छ।
– कलेजोमा बोसो लाग्ने समस्याबाट छुटकारा पाउन तौल नियन्त्रणमा राख्नुपर्छ।
– स्वस्थ र सक्रिय जीवनशैली अपनाउनुपर्छ।
कुनै व्यक्तिमा कलेजोले काम कम गरेमा लक्षणका आधारमा उपचार हुन्छ। समयमै रोग पहिचान गर्न सकियो भने उपचार सहज हुन्छ। आफूलाई शंका लाग्ने बित्तिकै चिकित्सकसँग परामर्श गर्नुपर्छ।
कलेजोको नियमित परीक्षण गराउनुपर्छ। सुरुवाती चरणमा रोग पत्ता लागे निको हुन्छ तर अन्तिम अवस्थामा भए रोग निको हुन गाह्रो हुन्छ। यदि औषधिले निको नभए कलेजो प्रत्यारोपण यसको अन्तिम विकल्प हो।