काठमाडौं । ‘ब्लफ कल’ले प्रहरीलाई बेला–बेला हैरानी बनाउने गरेको छ । मंगलबार ललितपुरमा त्यस्तै घटना दोहोरियो । एक पुरुषले महानगरीय प्रहरी परिसर ललितपुर कन्ट्रोलको १०० नम्बरमा फोन गेर भने–‘आज ठूलो अपराध गर्दैछु, अनि आफु पनि मर्छु !’

आश्चर्यजनक फोन आएपछि महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यले ती पुरुषको खोजी गर्न निर्देशन दिइन् । त्यसरी फोन गर्ने व्यक्ति हुन्, महालक्ष्मी नगरपालिका–४ कमल पोखरी बस्ने ३८ वर्षीय रामकुमार श्रेष्ठ । कन्ट्रोलमा फोन आएको करिब ५० मिनेटपछि प्रहरीले उनलाई पक्रियो । काभ्रे घर भएका रामकुमारलाई महानगरीय प्रहरी परिसर सातदोबाटोमा राखिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनीमाथि थप अनुसन्धान र कारवाही गरिने ललितपुरकी एसएसपी किरण बज्रचार्यले रातोपाटीलाई बताईन् । उनले भनिन्–‘अपराध गर्छु भनेर घोषणा गर्न पाईंदैन, हामी उनको मानसिक अवस्था परीक्षण गराएर मुद्धा चलाउँछौं ।’

प्रहरीलाई फोन गर्दा मदिरा पिएको र रामकुमारको पारिवारिक समस्या रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।