
काठमाण्डु – आज बुधबार काठमाण्डुको मौसममा केही सुधार आएको छ । मौसममा सुधार आएसँगै आइतबारदेखि काठमाण्डुमा बढेको वायु प्रदुषण केही घट्न थालेको मौसमविदले बताएका छन् ।
मौसमविद बरुण पौडेलका अनुसार मंगलबार साँझदेखि हावाको गति केही बढेकाले प्रदूषण पनि कम हुँदै गएको छ । हावा चल्न थालेसँगै वायुमण्डलमा रहेका धुलोका कणहरु चलायमान भएकाले सोमबार र मंगलबारको तुलनामा प्रदूषण कम भएपनि जोखिम कायमै रहेको उनले बताए ।
उनले भने, ‘जाडो महिनामा धेरै हावा नचल्ने र पानी पनि नपर्ने भएकाले प्रदूषण कायमै रहन्छ, पूर्ण रूपमा हट्दैन ।’ काठमाण्डु उपत्यकामा बिहान हुस्स–कुहिरो लागेपनि दिउँसो घाम लाग्ने उनले बताए । जाडोमा वायुको गति कम हुने र हावामा आद्रता बढि हुँदा धुलोका कणहरु वायुमण्डलको तल्लो तहमै रहँदा प्रदूषण बढि हुने उनको भनाइ छ ।
सोमबार र मंगलबार काठमाण्डु उपत्यकामा वायु प्रदूषणकोे स्तर खतराको तह माथि पुगेको थियो । वायु प्रदूषण अत्यधिकरुपमा बढेको भन्दै विशेष सावधानी अपनाउन सरकारले आग्रह गरिसकेको छ ।
वन तथा वातावरण मन्त्रालयको वातावरण विभाग र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति नै निकालेर विशेष सावधानी अपनाउन र अत्यावश्यक भनएसम्म घरबाहिर ननिस्कन अनुरोध समेत गरेका छन् । मन्त्रलायले प्रदुषण बढेका कारण स्वासप्रश्वास कठिनाई हुनेजस्ता समस्या आउने भन्दै घरबाहिर ननिस्कन, अत्यावश्यक नभई सवारी साधन नचलाउन समेत सबैमा अनुरोध गरेको छ ।
बायु प्रदुषणका कारण काठमाण्डुमा आँखा पोल्ने, रुघा लाग्ने, खोकी लाग्ने, छाला चिलाउने लगायतका लक्षण देखिएका छन् भने मुटु, फोक्सो तथा मस्तिष्कमा हुने खराब असर दीर्घकालमा देखिने जनस्वास्थ्यविदहरु बताउँछन् । काठमाण्ठु विश्वका सबैभन्दा प्रदुषित सहरको अग्रस्थानमा छ ।