
पछिल्लो समय कोरोना महामारीका कारण वस्तु तथा सेवा अनलाइनबाटै खरिद गर्ने क्रम बढेको छ । यसरी वस्तु तथा सेवा खरिद गरेवापत डेबिड तथा क्रेडिट कार्डबाट हुने कारोबार संख्या र भुक्तानी रकमसमेत बढेको छ ।
पैसाको प्रत्यक्ष कारोबार गर्दा भाइरसको जोखिम बढ्ने भन्दै नेपाल राष्ट्र बैंकले पनि पछिल्लो समय अनलाइन भुक्तानीका विभिन्न माध्यमलाई प्राथमिकता दिँदै शुल्कमा छुटको व्यवस्था गरेकाले पनि कार्डमार्फत हुने भुक्तानी बढेको हो ।
राष्ट्र बैंकको तथ्यांकअनुसार कात्तिकमा डेबिड कार्डबाट ६६ लाख ५० हजार ५६७ पटक कारोबार भएको छ । सो अवधिमा ५८ अर्ब ४७ करोड रुपैयाँ बराबरको कारोबार भएको केन्द्रीय बैँकको तथ्यांक छ ।
असोजमा यस्तो कारोबार ५९ लाख ५२ हजार ६९३ पटक भएको थियो भने भदौमा ४१ लाख १८ हजार १८२ पटक भएको थियो । असोजमा ४९ अर्ब रुपैयाँको कारोबार भएकोमा भदौमा ३३ अर्बको मात्र कारोबार भएको छ ।
पछिल्लो तथ्यांक हेर्दा यस्तो कारोबार क्रमशः बढ्दै गएको देखिन्छ ।
त्यस्तै क्रेडिट कार्डबाट हुने कारोबार पनि बढेको छ । कात्तिकमा क्रेडिट कार्डबाट १ लाख ४१ हजार ३३३ पटक कारोबार भएको छ ।
असोजमा यस्तो कारोबार १ लाख २८ हजार ४६० पटक र भदौमा ७६ हजार ३१७ पटक कारोबार भएको केन्द्रीय बैंकको तथ्यांक छ ।