
काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले वृद्धि हुँदा २२ सय अंकको विन्दुनजिक पुगेको छ । बुधबार १३ अंकले बढेर २१७८.५७ अंकको नयाँ उचाइमा बन्द भएको नेप्से आज पुन: दोहोरो अंकले वृद्धि हुँदा अर्को रेकर्ड कायम गरेको छ ।
आज नेप्से १५.९१ अंकले वृद्धि भएर २१९४.४८ अंकमा बन्द भएको छ । जुन नेप्सेको सबैभन्दा क्लोजिङ विन्दु हो । गत सोमबार कारोबार अवधिभित्र नेप्से २२१६.६४ अंकसम्म पुगे पनि नेप्से बन्द हुँदा तल झरेर बन्द भएको थियो ।
बिहीबार २१८१.२७ अंकमा खुलेको बजार परिसूचक नेप्से २२०५.०७ अंकसम्म पुगेपछि अन्तिम २२ सय अंकको विन्दुभन्दा तल नै बन्द भएको छ । गत सोमबार र आज बिहिबार पनि नेप्से २२ अंकको विन्दु पार गरेर पुन: २२ सयभन्दा तल नै बन्द भएकाले नेप्सेलाई २२ अंकको प्रतिरोध रहेको देखिन्छ ।
तर यो साता नेप्सेले तेस्रोपटक नयाँ उचाइ कायम गरेको छ । यसअघि, गएको मंसिर ११ गते नेप्सेले ५३ महिनाअघिको रेकर्ड ब्रेक गर्दै अगाडि बढेको थियो । २०७३ असार १२ गते १८८१.४५ अंकसम्म पुगेको नेप्से त्यसपछि ११०० अंकको विन्दुसम्म झरेको थियो ।
तर, लकडाउनसँगै तीन महिनाभन्दा लामो समय बन्द भएर असार मध्यबाट खुलेको नेप्सेले त्यसयता लगातार उकालो लाग्दा नयाँ नयाँ रेकर्ड कायम गर्दै अगाडि बढेको छ । मंसिर १७ गते २०७१.०३ अंकसम्म पुगेको थियो ।
त्यसपछि लगातर उतार-चढाव देखिएको सेयरबजारले बिहीबार उक्त रेकर्ड तोड्दै २०८७ अंकमा बन्द भयो । त्यसपछि आइतबार नेप्से ४.२२ प्रतिशतले वृद्धि हुँदा २१७५.४० अंकमा बन्द भएको थियो । सोमबार र मंगलबार बजारमा सामान्य करेक्सन भए पनि हिजो बुधबार भने नेप्से दोहोरो अंकले वृद्धि हुँदा नयाँ रेकर्ड कायम गरेको थियो । पुन: नेप्सेले उक्त रेकर्ड तोडेर अगाडि बढेको हो ।
तर नेपाल धितोपत्र बोर्डले सेयर बजारको राफसाफ टी प्लस टु मा गर्ने तयारी भइसकेको सूचना बाहिर आएकाले नेप्से आगामी साता २२ सय अंकमाथि जान सक्ने सम्भावना भने देखिन्छ । नेप्सेसँगै बिहीबार कारोबार रकम पनि बढेको छ । आज एक करोड १७ लाख ६७ हजार ४९२ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ८७ करोड ४७ लाख ८ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।
आज नेप्सेमा अन्य समूहको सूचकबाहेक सबै समूहमा हरियाली देखिएको छ । बजारलाई लिड गर्ने बैंकिङ सूचक ०.७९ प्रतिशतले बढेको छ । त्यस्तै व्यापरको सूचक ४.७९ प्रतिशत र उत्पादनको सूचक २.०६ प्रतिशतले बढेको छ । लघुवित्त, निर्जीवन बिमा र वित्त कम्पनीको सूचक पनि १ प्रतिशतमाथिले बढेको छ । अन्य समूहको सूचक भने ०.२ प्रतिशतले घटेको छ ।
कारोबार रकममा बजारको नेतृत्व प्रभु बैंकले गरेको छ । बैंकको ३१ करोड ७१ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै नेपाल पुनर्बिमा कम्पनीको २७ करोड ४४ लाख र चिलिमे हाइड्रोपावरको २४ करोड ७९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
नेप्सेमा बिहीबार पाँच कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा मल्टिपर्पस फाइनान्स, आईएमई जनरल इन्स्योरेन्स, मिर्मिरे लघुवित्त, नारायणी डेभलमेन्ट बैंक र प्रभु लाइफ इन्स्योरेन्स छन् । साधारण सेयर जारी गरेर यही साताबाट प्रभु लाइफको सेयर नेप्सेमा कारोबार खुलेको हो । कम्पनीको सेयर १३७ रुपैयाँ ओपनिङ कारोबार भएको थियो ।