नेपाली काँग्रेसभित्र ‘राष्ट्र निर्माता’ पृथ्वी नारायण शाहको सम्मानमा पुस २७ गते पृथ्वी जयन्ती राष्ट्रिय एकता दिवस मनाउनुपर्ने आवाज उठेको छ । काँग्रेसका पूर्व प्रमुख सचेतक तथा पूर्व केन्द्रीय सदस्य लक्ष्मणप्रसाद घिमिरे र महासमिति सदस्य लोकेश ढकालले सभापति शेरबहादुर देउवा समक्ष निवेदन पेश गरेका छन् ।

राजनीतिक यथार्थलाई मनन् गर्दै काँग्रेसले २७ पौषको राष्ट्रिय महत्वको दिनलाई राष्ट्रिय पर्वको रूपमा मनाउन र त्यस दिन सार्वजनिक विदा दिने पक्षमा उभिदै त्यसै बमोजिम निर्णय गर्न सरकारलाई दवाव दिन उनीहरुले देउवा समक्ष माग गरेका हुन् ।

राष्ट्र र राष्ट्रियताको कुरा गर्दा नेपाल राष्ट्रको एकिकरण गर्ने, राष्ट्र निर्माण गर्ने पृथ्वीनारायण शाहलाई सम्मान नगर्नु, उनको योगदानको चर्चा नहुनु दुःखद् पक्ष भएको भन्दै निवेदनमा काँग्रेसकै पालामा बिदा कटौती गर्ने काम भएको पनि उल्लेख गरिएको छ ।

यस्तो छ देउवा सामु पेश भएको निवेदनः

श्रीमान सभापति ज्यू,

नेपाली काँग्रेस केन्द्रीय कार्यालय

वीपी स्मृति भवन, सानेपा, ललितपुर, नेपाल ।

विषय :– ‘पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवस’ मनाउने सम्वन्धमा ।

महोदय,
नेपाली काँग्रेसको स्थापना केवल प्रजातन्त्रको लागि मात्र भएको होइन । यसको स्थापना प्रजातन्त्रको माध्यमले राष्ट्रियता र राष्ट्र वलियो वनाउनको लागि भएको हो । नेपाली काँग्रेस जनतामा अधिकार भएन, जनता वलिया भएनन् भने देश कमजोर हुन्छ, जनताको मत अनुसार सञ्चालन हुने प्रजातान्त्रिक शासन पद्धतिबाट मात्र राष्ट्र वलियो हुन्छ भन्ने मतमा विश्वास गर्दछ । नेपाली काँग्रेसका संस्थापक, राजनेता वीपी कोइरालाले पनि हामीलाई यही कुरा सिकाएर जानु भएको हो । नेपाली काँग्रेसको सिद्धान्तको प्रमुख आधार भनेको नै राष्ट्रियता हो । त्यसैले नेपाली काँग्रेसले आफ्नो सिद्धान्त ‘राष्ट्रियता, प्रजातन्त्र र समाजवाद’ उल्लेख गरिरहँदा सबै भन्दा अगाडी राष्ट्रियतालाई राख्नुको अर्थ पनि यही हो ।
नेपाल राष्ट्र र राष्ट्रियताको कुरा गर्दा नेपाल राष्ट्रको एकिकरण गर्ने, राष्ट्र निर्माण गर्ने पृथ्वीनारायण शाहलाई सम्मान नगर्नु, उनको योगदानको चर्चा नहुनु दुःखद् पक्ष हो । संविधान सभाले संविधान जारी गरिरहँदा नेपाल राष्ट्र निर्माता पृथ्बिनारायण शाह प्रति अलिकति पनि सम्मानभाव व्यक्त नगर्नु नेपाली राजनीति कै ठुलो भूल थियो । प्रजातान्त्रिक आन्दोलन, शान्ति प्रक्रिया र संविधान निर्माणको नेतृत्व गरिरहेको नेपाली काँग्रेसले यस तर्फ अन्देखा गर्नु ऐतिहासिक गल्ती थियो । शाह बंशका केही राजा निरंकुश भए, प्रजातन्त्र र जनअधिकार खोसे भनेर राष्ट्र निर्माता प्रति देशले अपमान गर्नु निश्चयः नै नेपाली राजनीतिक इतिहास कै खेदजनक घटना हो ।
०६२÷०६३ को जनआन्दोलनको सफलता पछि नेपाली काँग्रेसको नेतृत्वमा रहेको सर्वदलीय सरकारको काँग्रेस कै गृहमन्त्रीको निर्णयबाट नेपाल राष्ट्र निर्माता पृथ्बीनारायण शाहको जन्म दिनमा राज्य स्तरबाट ‘जन्म जयन्ती एवम् एकता दिवस’ मनाउँदै आएको परम्परालाई अनायास तोड्ने काम भएको घटना र त्यसै गरी प्रधानमन्त्री सुशील कोइरालाको कार्यकालमा नेपाल राष्ट्र निर्माणमा पृथ्बीनारायण शाहको योगदानलाई सम्मान गर्दै तत्कालिन गृहमन्त्रीको प्रस्तावमा प्रधानमन्त्रीले मन्त्रिपरिषदमा प्रस्ताव लगेर ‘पृथ्बी जयन्ती एवम् राष्ट्रिय एकता दिवस’ लाई राष्ट्रिय पर्वको रूपमा मनाउने र त्यस दिन सार्वजनिक विदा दिने निर्णय गर्न लाग्दा नेपाली काँग्रेस कै एक मन्त्रीले त्यो प्रस्तावको विरोध गरेकै कारण यो प्रस्ताव असफल भएको कारणले ऐतिहासिक राष्ट्रवादी दल नेपाली काँग्रेसको राष्ट्रियताको धार धुमिल भएको यथार्थलाई हृदयङ्गम गर्दै राष्ट्रिय भावनाको यो मुद्धामा अव नेपाली काँग्रेसले पुनर्विचार गर्ने वेला भएको छ भन्ने आम काँग्रेसीजनले महशुस गरेका छन् । हिजो परिस्थितिको वाध्यता वा भुलवस यसो गरिए तापनि अब राजनीतिक परिस्थिति वदलिएको छ । आम नेपाली जनता राष्ट्र निर्माता पृथ्बीनारायण शाहले राष्ट्र निर्माणमा खेलेको अतुल्य भूमिकालाई सम्मान गर्दै राज्यले उनलाई सम्मान गर्नुपर्छ भन्ने पक्षमा छन् । वीपी कोइराला जस्तो महान राष्ट्रवादी नेताले राष्ट्रियता कै लागि जोखिम मोलेर राष्ट्रिय एकता र मेलमिलापको नीति लिएको पनि यही पौष महिनामा नै हो । नेपाली काँग्रेसले अझै पनि वीपी कोइरालालको मेलमिलापको नीतिको सान्दर्भिकता सकिएको छैन भनिरहेको अवस्था, शान्ति प्रक्रिया र संविधान निर्माणको क्रममा काँग्रेसले लिएको नीति र निर्णयको कारण नेपाली काँग्रेसको इतिहासले स्थापित गरेको राष्ट्रियताको धारलाई केही धुमिल वनाएको अवस्थामा त्यो धारलाई अझ सशक्त वनाउन, नेपाली काँग्रेसले राष्ट्र निर्माता पृथ्बीनारायण शाहले नेपाल राष्ट्र निर्माणमा खेलेको गौरवशाली भूमिकाको उच्च सम्मान गर्नु पर्छ भन्ने हाम्रो निचोड छ । यसै राजनीतिक यथार्थलाई मनन् गर्दै नेपाली काँग्रेस, २७ पौषको यस राष्ट्रिय महत्वको दिनलाई राष्ट्रिय पर्वको रूपमा मनाउन र त्यस दिन सार्वजनिक विदा दिने पक्षमा उभिदै त्यसै वमोजिम निर्णय गर्न सरकार समक्ष नेपाली काँग्रेसले जोडदार माग गरोस् भनेर यो निवेदन पेश गरेका छौं ।
– जय नेपाल !

……………………………..
लक्ष्मणप्रसाद घिमिरे
नेपाली काँग्रेस, पूर्व केन्द्रीय सदस्य

पूर्व प्रमुख सचेतक

लोकेश ढकाल

नेपाली काँग्रेस, महासमिति सदस्य

२३ पौष २०७७, काठमाडौं

लोकान्तर बाट साभार 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय