
काठमाण्डाै – महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न संघ संस्थाको समन्वयमा सडकबत्ती राख्न थालेको छ । कोटेश्वर र कलंकी क्षेत्रमा दुर्घटनाको जोखिम बढेकाले सडकबत्ती राख्न थालिएको महाशाखाले जनाएको छ ।
विशेषगरी रातको समयमा सडकबत्तीको अभावले अँध्यारोको कारण जेब्राक्रसिङबाट तथा जथाभाबी बाटो काट्ने क्रममा दुर्घटनाको जोखिम उच्च हुने गर्छ ।
महाशाखाले विभिन्न संघ संस्थाहरुसँग समन्वय गरेर त्यस्ता ठाउँहरुमा स्ट्रिट लाइट जडान गर्न थालेको हो । साथै तीव्र गतिका कारण हुने दुर्घटना न्यूनीकरण गर्न रातको समयमा समेत टल्किने ट्राफिक कोणबाट स्पीड ब्रेकर बनाएर गति नियन्त्रण गरिएको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिनुभयो ।
जाडो मौसम सुरु भएसँगै केही समययता दुर्घटनाको जोखिम बढेको र बढी दुर्घटना हुन सक्ने ठाउँहरुको पहिचान गरेर त्यस्ता ठाउँहरुमा ट्राफिक महाशाखाले स्थानीय संघ संस्था तथा समाजसेवीहरुसँग समन्वय गरेर सडक बत्ती जडान र टल्किने ट्राफिक कोण राख्न सुरु गरिएको महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।
कोटेश्वर खण्डको बीएण्डबी अगाडि, स्टार अस्पताल अगाडि, सानेपा, बल्खु सुमो पार्क, खसी बजार, सीता पेट्रोल पम्प, भालेश्वर अटो वर्कसप र कलंकीलगायतका ठाउँहरुमा सडकबत्ती जडान गरिएको छ ।