
दमक/यूवा संघ नेपाल दमक नगर कमिटीले आज सम्बद्ध नेता कार्यकर्ताहरुबीच वनभोजसहितको भेटघाट कार्यक्रम गरेको छ । दमक ३ स्थित गोलाटारमा मेची सहकारी संस्थाद्धारा निर्मित पिकनिक स्थलमा आयोजना गरिएको सो कार्यक्रममा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समुहका समर्थक यूवा कार्यकर्ताहरु सहभागी थिए ।
पार्टी केन्द्रिय सदस्य समेत रहेका प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा युवा संघ नेपालका केन्द्रिय सदस्य राजु कार्की, सो पार्टीका मनोनित केन्द्रिय सदस्य विश्व बराल, युवा संघका नेता पर्शुराम बस्नेत लगायतले शुभकामना मन्तव्य राखेका थिए । सो अवसरमा यूवा संघ नेपालका १ नम्बर प्रदेश कमिटी सदस्य राजकुमार थापा, जिल्ला अध्यक्ष शम्भु भण्डारी लगायतको पनि विशेष उपस्थिती रहेको थियो । नगर कमिटी अध्यक्ष राम पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा युवा बिद्यार्थी प्रशिक्षण ,पार्टीको आधिकारिक नेतृत्व , आगामी रणनीति लगायतका बिषयमा समेत कुराकानी भएको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीको सिफारिसमा आफनै पार्टीको स्पष्ट बहुमत रहेको संसद राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गरे यता नेकपाको केन्द्रदेखि तल्लो तह सम्म फुट आएको छ । सो फुटसंगै माधवकुमार नेपाल नेतृत्वको नेकपा र ओली नेतृत्वको नेकपाका दुई अलग अलग समुह तल्लो तह सम्मनै आफनो अस्तित्व देखाउन विशेष गरी यूवा बिद्यार्थीहरु आफनो पक्षमा तान्ने प्रयत्नमा छन । पार्टीको आधिकारिकता कुन समुहले पाउने हो भन्ने बिषय निर्वाचन आयोगमा छ भने संसद विघटन र त्यसका विरुद्ध परेका रिटहरुमाथिको सुनुवाई सर्वोच्च अदालतमा जारी रहेकाले आआफनो पकड र अस्तित्व देखाउने प्रयत्न स्वरुप संगठनका नाममा समुह समुहका गतिबिधिहरु पनि भइरहेका हुन ।