प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा नेपाली कांग्रेसले प्रधानमन्त्रीकै गृह नगर दमकमा विरोध प्रदर्शन गरेको छ । गाउँघरतिर देखिने बयलगाडा सहित कांग्रेसले प्रधानमन्त्री विरुद्ध गृह नगरमै विरोध प्रदर्शन गरेको हो ।

दमक पार्टी कार्यालयबाट विरोध र्याली निकाल्दै प्रधानमन्त्री ओली विरुद्ध कांग्रेस कार्यकर्ताले चर्को नाराबाजी गरे । प्रधानमन्त्री ओलीले असंबैधानिक कदम चाल्दै संसद विघटन गरेको भन्दै कांग्रेसले विरोध प्रदर्शन गरेको हो । क्षेत्रीय कार्यक्रमको नाम दिएको उसले व्यंज्ञात्मक शैलीमा प्रदर्शन गरेको छ ।

प्रधानमन्त्री ओलीले विगतमा बयलगाडा चढेर अमेरिका पुग्न सकिन्दैन भनेको भन्दै सरकार बयलगाडा जस्तो गतीमा चलेको बताउँदै उसले बयलगाडा सहित प्रदर्शन गरेको छ । उनीहरुले ओली सरकार मुर्दावाद, ओली सरकार कस्तो ? बयलगाडा जस्तो , जस्ता नारा लगाएका थिए ।

अधिकांस नेताहरुले बयलगाडाबाटै मन्तब्य राख्नु भएको थियो । विरोध प्रदर्शनमा सम्बोधन गर्दै प्रमुख अतिथि कांग्रेस नेता पुर्णानन्द शर्माले ओलीको सर्बसत्तावाद विरुद्ध कांग्रेस सडकमा आएको बताउनु भयो । नेता शर्माले ओलीले असंबैधानिक ढंगले संसद विघटन गरेको भन्दै ओलीको चर्को विरोध गर्नुभयो ।

त्यस्तै नेता राजन बहादुर ढुंगानाले नेपालको संविधान २०७२ को कुनैपनि धाराले संसद विघटन गर्ने अधिकार नदिएको भन्दै संसद विघटन असंबैधानिक कदम भएको दाबी गर्नुभयो । नेता ढुंगानाले ओली सरकारको यो प्रतिगमन कदम भएको भन्दै प्रतिनिधिसभा पुर्नस्थापनाका लागी सबै नेपाली एक भएर संसद पुर्नस्थापनामा दबाब दिनुपर्ने बताउनु भयो ।

उहाँले संसद विघटन असंबैधानिक भएको संविधानका ज्ञाताहरुले पनि भनेको भन्दै ओली सरकारको कदम गलत भएको बताउनु भयो । त्यस्तै नेतृ रेगिना भट्टराईले ओलीले एकलौटि ढंगले संसद विघटन गरेर नेपाली जनताको अपमान गरेको टिप्पणी गर्नुभयो ।

नेता खगेन्द्र पाण्डव अधिकारीले नेपाली कांग्रेस लोकतन्त्रको रक्षाका लागी सडकमा आएको उल्लेख गर्नुभयो । उहाँले ओली सरकार भ्रष्टाचारको दलदलमा फसेको र सोको पार्टी भित्रबाटै कुरा उठेका कारण अप्ठ्यारोमा पर्ने डरले ओलीले संसद विघटन गरेको उल्लेख गर्नुभयो ।

त्यस्तै नेता शेरबहादुर भट्टराईले अहिले सर्वसत्तावादको विरुद्धमा, लोकतन्त्रको हत्याको विरुद्धमा र असंबैधानिक कदमको विरुद्धमा सडकमा उत्रिएको बताउनु भयो । कार्यक्रममा कांग्रेस नेताहरु दिलबहादुर बुढाथोकी, शुरेश सुब्बा, रवी केसी, ढुण्डीराज भण्डारी लगायतले सम्बोधन गर्नु भएको थियो । उहाँहरुले दमकका विभिन्न चोकका कोणसभालाई सम्बोधन गर्नु भएको हो । कार्यक्रम क्षेत्र नम्बर ५ ख का सभापति पदम लिम्बुको सभापतित्वमा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय