काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अब देश निर्वाचनतर्फ होमिएको बताएका छन्। राष्ट्रियसभाको आइतवार बसेको बैठकलाई सम्बोधन गर्दै उनले देश अब आमनिर्वाचनतर्फ होमिएको बताएका हुन्।
उनले सरकारलाई पाँच वर्षसम्म लैजान खोजिए पनि नसकिएको बताए। ‘समयभन्दा अलिक अगावै नयाँ जनादेशका लागि जनताबीचमा जाँदैछौं’, उनले भने, ‘प्रतिनिधिसभा विघटन भएको छ, अब देश आमनिर्वाचनतर्फ उन्मुख भएको छ।’
उनले संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयनमा काम गर्दै अगाडि जाने सोचे पनि नेकपाका केही नेताको बखेडाका कारण त्यो सम्भव नभएको बताए।
‘नेपाली जनताले असाधारण विश्वासका साथ स्नेहपूर्वक हामीलाई जिम्मेवारी दिएका थिए। त्यस अभिभारालाई हामीले कर्तव्यनिष्ठका साथ काम गरेका थियौँ’, उनले भने, ‘सरकारलाई काम गर्न दिने वातावरण दिने वातावरण भएन। सरकारको कामलाई व्यवधान गरियो। जहिले झमेला मात्रै खडा गरियो। केही व्यक्तिका व्यक्तिगतका आकांक्षा महत्वकांक्षाले राष्ट्रिय राजनीतिलाई नै प्रदूषित गर्न खोजियो। देशलाई अगाडि बढ्न नदिएर बहुमतलाई खण्डित गर्ने खेलमा लागियो।’



