काठमाडौँ – मोरङको विराटनगरमा फेसन सोको बहानामा पोखराबाट बोलाइएका फोटोग्राफर लुट्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा झापा अर्जुनधारा नगरपालिका–६ का २० वर्षीय अनुप ढकाल र साराशं भट्टराई रहेका छन् ।

पक्राउ परेका ढकालले पोखरा महानगरपालिका–२० का ‘योअर डिजिटल फोटो गुड्स सेन्टर’ का सञ्चालक विमल कार्कीलाई विराटनगरमा फेसन सोका लागि फोटो खिच्न आवश्यक सामाग्रीसहित बोलाएर लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले रातोपाटीलाई बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

डिएसपी राईका अनुसार गत पुस २४ गते फोटो खिच्नका लागि बोलाइएका कार्कीलाई पक्राउ परेका ढकालले पेश्की रकम भन्दै इसेवामार्फत ४ हजार पठाएका थिए ।

कार्की फोटो खिच्नका लागि पुस २५ गते मोरङको बुढीगंगा पुगे । उनलाई सोही ठाउँमा रहेको आरएन होटलको कोठा नम्बर ११४ मा बस्ने व्यवस्था मिलाइएको थियो । पीडित कार्कीले सोही होटलमा फोटोग्राफीका सामाग्रीहरु राखे ।

तर, खाना खानका लागि सुनसरीको इटहरी लगिएको पीडित पक्षको भनाई उद्धृत गर्दे डिएसपी राईले बताए । खाना खाँदै गर्दा अनुप भने त्यहाँबाट निस्किएर आर एन होटल गई सामान चोरी गरी फरार भएका प्रहरी अनुसन्धानमा खुल्न आएको छ ।

प्रहरीका अनुसार चोरी भएका क्यामरा लाईट ब्याट्री ५ थान, चार्ज गर्न मिल्ने ब्याट्री ६ सेट, मेमोरी कार्ड ६ थान, ड्रोन एक थान, क्यामरा ब्याट्री ६ थान, रिफ्लेक्टर एक थान, माईक २ थान, पावर बैंक ३ थान, ट्रिगर २ थान, ब्याट्री चार्जर ६ थान, ल्यापटप एक थान, झोला ७ थान, क्यामेरा ३ थान र लाईट एक थान बरामद गरिएको छ ।