के बि महरा/ कैलाली : सुदुरपश्चिम कैलालीका पत्रकार दीपक उपाध्याय नेपाल, जो केवल एक पत्रकार मात्र नभै हजारौँका जिबनदाता पनि हुन् ।
पत्रकार दिपक उपाध्यायले जीवन दान अर्थात रक्तदान गरि हाल सम्म थुप्रैको ज्यान बचाएका छन् भने कैयौँलाई पुनर्जीवन दिन सफल भएका छन् । त्यति मात्रै नभै नेपालले हालसम्म गरि ९२ पटक बढी रक्तदान गरिसकेका छन् ।

आपतकालीन बिरामिको जीवन बचाउन होस् वा रक्तस्रावले जीवन मरणको दोसाँधमा छटपटाईरहेकि गर्भवती आमा तथा शिशुको ज्यान बचाउनमा उनले महत्वपूर्ण भुमिका निर्वाह गरेका छन् अँझ भनौ उनी ती तमाम रक्तस्रावमा परेका ,चोटपटक / दुर्घटनामा परि ज्यान जोखिममा परेका हरुको लागि भगवान सावित बनेका छन्।
मुलुकभर रगत अभाव भैरहेका बेला ९२ पटक उनी एक्लैले मात्र रक्तदान गरि नेपालले एक सक्षम रक्तदाता र मानवताको कर्तव्य पूरा गरेका हुन् ।
९२ पल्ट सम्ममा उनले दान गरेको रगतको परिमाण ४६ लिटर हुन्छ। एकपल्ट गरेको रक्तदानले तीन जना बिरामीलाई बचाउन सकिन्छ । जसका आधारमा उनले दान गरेको रगतले २ सय ७६ बढिको जीवन बचाउन सहयोग पुगेको छ ।
अँझ भनौ उनी कैलाली धनगढिका लागि रक्तसञ्चार केन्द्र नै हुन् । उनी पेशाले उनी एक पत्रकार हुन् । पत्रकारसंगै पछिल्लो समय उनलाई कीर्तिमानी रक्तदाता भनेर समेत चिन्न थालिएको छ ।
झण्डै साढे दुई दशकअगाडि बिरामी आफन्तलाई भेट्न उनी सेती प्रादेशिक अस्पतालको आकस्मिक वार्डमा पुगे । दुर्घटनामा घाइते भएका रिक्सा चालकलाई उपचारका लागि अस्पताल पुर्याइएको रहेछ । घाइतको साथमा आफन्त कोही थिएनन् । दीपक भन्छन्, ‘उनलाई ए पोजेटिभ रगत चाहिएको रहेछ । पहिलो पटक मैले उनकै लागि रक्तदान गरे । त्यसपछि तीन महिनाको अन्तरमा नियमित रक्तदान गर्दै आएको छु ।’ दीपक नियमित रक्तदाता हुनुमा दाई विनोदलाई श्रेय दिन्छन् । उनका अनुसार विनोद पनि नियमित रक्तदाता हुन् ।
तीन वर्ष अगाडिको कुरा हो, दीपकलाई सेती प्रादेशिक अस्पतालबाट ए पोजेटिभ रगत आवश्यक भएको भन्दै स्वास्थ्यकर्मीको फोन आयो । उनी केही समयमै प्रादेशिक अस्पतालमा पुगे । बिरामी रहेछन्, सिकलसेल एनिमियाको । ‘अस्पताल पुगेर मैले रगत दिएँ । तर उनलाई बचाउन सकिएन् । मेरो जिवनको दुखद अनुभव हो त्यो,’ दीपकले भने । त्यसअघिको कुरा हो, रक्तसञ्चार केन्द्र धनगढीबाट दीपकलाई फोन आयो । सुत्केरीलाई ए पोजेटिभ रगत चाहियो । दीपक रगत दिएर फर्किए । केही दिनमा ति महिला ज्यान जोगाइदिएको भन्दै धन्यवाद ज्ञापन गर्न दीपक कार्यरत कार्यालयमै पुगिन् । दीपक भन्छन्, ‘यसरी कार्यालयमै भेट्न आउँदा मलाई पनि खुसी लाग्यो । त्यसपछि म उनको बच्चा हेर्नलाई पनि गएँ ।’

रक्तदान सम्बन्धी सेवा केही समय यताको दैनिकी जस्तै बनेकोछ उनको । बिहान उठेपछि दीपकको पहिलो काम रक्तसञ्चार केन्द्रमा फोन गर्नु हो । उनी रगतको उपलव्धताको विषयमा बुझ्छन् । यदि कुनै समूहको रगतको अभाव भए सामाजिक सञ्जाल फेसबुकमा ‘बचाऔं कसैको ज्यान, आउनुस गरौ रक्तदान’ भन्दै स्टाटस लेख्छन् । त्यति मात्रै होइन्, सामाजिक कार्यमा सक्रिय संस्थाहरूलाई रक्तदान गर्न उनी आग्रह गरिरहन्छन् । त्यसैले पनि धनगढीमा कसैलाई रगत चाहिए पहिलो फोन आफुलाई नै आउने गरेको उनी बताउँछन् ।
“बिरामीलाई ताजा रगत चाहिएमा समयमा पाउनैमुस्किल हुन्छ यस्तो अवस्थामा उनको कार्य हाम्रालागी अविस्मरणीय छ ।” नेपाल रेडक्रस सोसाईटी कैलालीका सभापति उत्तम जोशीले भने, पश्चिम नेपालमा रक्तसञ्चार केन्द्र सञ्चालन गर्न दीपक नेपालको भूमिका सह्रानिय रहेको जोशी बताउँछन्। ‘रगतको विकल्प रगत नै हो,’ जोशीले भने, ‘दीपक जी जस्ता व्यक्तिकै कारण रक्तसञ्चार केन्द्र सञ्चालन भइरहेको छ । उनले आफुले रगत दिने र अन्यलाई समेत रक्तदान गर्नमा प्रेरणा गर्दै आईरहेका छन् ।



