विराटनगर । प्रदेश १ को प्रदेशसभा बैठक बुधबार सुरु हुँदै छ। यसपटक बैठकस्थलको तयारी विगतभन्दा भिन्न रूपमा गरिएको छ। सांसद बस्ने कुर्सी फेर्नेदेखि कुर्सीका खुट्टालाई एकअर्कामा जोडेर फलामको पाताको ‘बोल्डिङ’ नै गरिएको छ। कुर्सी उचाल्न र हल्लाउन नसक्ने बनाइएको छ। यसअघिका कुर्सी सार्न र उठाउन मिल्ने थिए।

अबको बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपाको पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहले दर्ता गरेको अविश्वास प्रस्तावका विषयमा छलफल गरिनेछ। छलफलका क्रममा विवाद र अवरोध हुन सक्ने अनुमान गर्दै यसपटक प्रदेशसभा सचिवालयले विशेष तयारी गरेको हो। ‘सदन चल्ने कुरो हो, जे पनि हुन सक्छ। पहिलेका उदाहरणबाट पाठ सिकेको हो’, सचिवालयका एक कर्मचारीले कुर्सी मिलाउँदै भने।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पहिले प्रतिपक्षी दल नेपाली कांग्रेस अल्पमतमा हुँदा प्रदेशमा नेकपाको दुई तिहाइ बहुमतको सरकार थियो। बहुमतमा अधिकांश प्रस्ताव पारित हुँदै आए पनि अहिले बहुमतभित्रै दुई समूह भएकाले यसपटकको सदन अलि विशेष हुन सक्ने कुरालाई ध्यानमा राख्दै सुरक्षाको दृष्टिकोणमा पनि मजबुत बनाइएको प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले बताए। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा रविन भट्टराईले लेखेका छन् ।