दमक/ प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको निर्णयका विरुद्ध जनता समाजवादी पार्टीले आज देशभरनै विरोध प्रदर्शन गरेको छ । दोश्रो चरणको आन्दोलनको अन्तिम दिन आज उसले प्रधानमन्त्री ओलीको गृहनगर झापाको दमकमा पनि विरोध र्यालीसहित कोणसभा गरेको छ ।
जसपा जिल्ला समन्वय समितिको आयोजनामा क्याम्पसमोड नजिक रहेको दमकको पार्टी कार्यालय अगाडीबाट निकालिएको र्यालीमा उनीहरुले ओली विरुद्ध चर्को नाराबाजी समेत गरेका थिए । र्याली दमकको जेसीज चोक परिक्रमा गर्दै कोणसभामा परिणत भएको थियो ।
सो क्रममा समाजवादी पार्टीका युवा नेता दिपेनवाला राईले प्रधानमन्त्री ओलीले संसद विघटन गरेर असंबैधानिक कदम चालेको भन्दै चर्को विरोध गर्नुभयो । उहाँले संसद पुर्नस्थापनाको पक्षमा निर्णय नगरे प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सडकमा ल्याएर कार्वाही गर्ने चेतावनी समेत दिनुभयो ।
प्रधानन्यायाधीश प्रधानमन्त्रीको इशारामा चलेको भन्दै ओलीको असंबैधानिक कदम सच्याउन नेता राईले प्रधानन्यायाधीश समक्ष माघ समेत गर्नुभयो । त्यस्तै नेता राईले संसद पुर्नस्थापना नभए देशभर बन्द हड्ताल तथा चक्काजाम गर्ने चेतावनी समेत दिनुभयो ।
उहाँले प्रधानमन्त्री ओलीलाई माफियाहरुले चलाएको आरोप समेत लगाउनु भयो । कोणसभालाई सूर्यनारायण गणेश, भुपेन्द्र नेम्बाङ, हरिदेवी लावती लगायतका नेताहरुले सम्बोधन गर्नु भएको थियो ।










