काठमाडौं– शरीरको विकास र मेटाबोलिज्ममा आयोडिनको महत्वपूर्ण भूमिका हुन्छ ।
थाइराइड हार्मोन्स बनाउनका लागि आयोडिन अति नै आवश्यक हुन्छ ।
जीवनको हरेक स्तरको आधारमा आयोडिनको आवश्यकता भिन्दा–भिन्दै हुन्छ ।
अमेरिकाको नेशनल इन्स्टिच्यूट अफ हेल्थका अनुसार हरेक वयस्क व्यक्तिलाई दिनहुँ १ सय ५० माइक्रोग्राम आयोडिनको आवश्यकता पर्दछ ।
गर्भावस्थामा २ सय २० माइक्रोग्राम र स्तनपानको समयमा २ सय ९० माइक्रोग्राम आयोडिनको दिनहुँ आवश्यकता पर्दछ ।
यद्यपि, आयोडिनयुक्त नूनका कारण अहिले आयोडिनको कमीका कारण हुने समस्या पहिलाको तुलनामा धेरै कम हुन्छ, तर पनि धेरै मानिसहरु अझै पनि आयोडिनको कमीको शिकार हुन्छन् ।
अमेरिकन थाइराइड एसोसिएशनको रिपोर्टका अनुसार संसारका करिव ३० प्रतिशत जनसंख्यामा आयोडिनको कमीको खतरा छ ।
यस प्रकारको संकेतले तपाईंमा पनि आयोडिनको कमी हुनसक्छ र यसलाई अलिकति पनि वेवास्ता गर्नु हुँदैन भन्ने कुरा संकेत गर्छ ।
गर्दनमा ठूलो गलगाँड
थायराइड गन्थ्रि गलगाँड बढ्नु आयोडिनको कमी हुनुको सबैभन्दा पहिलो र स्पष्ट लक्षण हो । धेरै जसो प्रोसेस्ड कमर्शियल फूडमा प्रयोग हुने नूनमा आयोडिन हुँदैन । जुन व्यक्ति प्रोसेस्ड फूडमा निर्भर हुन्छन्, उनीहरुको शरीरमा पर्याप्त मात्रामा आयोडिन हुँदैन ।
सुत्दा निसासिनु
गलगाँडका कारण सास फेर्न र केहि कुरा निल्न धेरै कठिन हुन्छ । अमेरिकन थाइराइड एसोसिएशनका अनुसार सुत्दा तपाईंलाई आफू निसासिएको महसुस हुन्छ ।
थाकेको महसुस हुनु
आयोडिन एउटा आवश्यक सुक्ष्म पोषक तत्व हो, जुन शरीरको हरेक कोषिकामा पाइन्छ । थाइरोक्सिन र ट्राईआयोडायरोनिन जस्ता थाइराइड हार्मोनको उत्पादनमा आयोडिनको महत्वपूर्ण भूमिका हुन्छ । हाइपोथायराइडिज्ममा थायराइड असामान्य रुपले निष्क्रिय हुन्छ । यो हार्मोनको कमीका कारण शरीरले सही तरिकाले काम गर्न सक्दैन । यसको कमीले हरेक समय थकान, कब्जियत र वजन बढ्ने जस्ता समस्या देखिने टेक्सस वूमेन्स यूनिभर्सिटीमा न्यूट्रिसन एन्ड फूड साइन्सकी प्रोफेसर डाक्टर नेन्सी डिमार्कोले द हेल्दी वेबसाइटलाई बताएकी छिन् ।
सुख्खा छाला र कपाल झर्ने
आयोडिनको कमीले छाला सुख्खा हुन थाल्छ, कपाल झर्ने र केही मानिसको मांसपेशि दुख्न सक्छ । डिमार्को भन्छिन्–‘पुरुषको तुलनामा महिलाहरुमा हाइपोथाइरायडिज्मको आठ गुणा बढी खतरा हुन्छ । त्यसो त यो समस्या जुन सुकै उमेरका महिलामा पनि हुन सक्छ, तर महिनावारी सुकेपछि यसको सम्भावना धेरै बढ्छ ।
काम गर्दा समस्या महसुस हुनु
एक्सेप्ट द बेस्ट बुकका प्रसिद्ध लेखिका एलिजाबेथ वार्ड भन्छिन् –‘युवामा आयोडिनको कमीको असर मानसिक रुपमा पनि पर्न सक्छ । जसका कारण कार्य क्षमता प्रभावित हुन सक्छ । यो लक्षण हाइपोथाइरायडिज्मलाई हुन सक्छ । गर्भवती र स्तनपान गराउने महिलाले आयोडिन पर्याप्त मात्रामा भएको खानेकुरा खानु आवश्यक छ ।
गर्भाधारणको समयमा समस्या
गर्भाधारणको समयमा शरीरलाई थाइराइड हार्मोनको आवश्यकता हुन्छ र यसका लागि पर्याप्त मात्रामा आयोडिनको आवश्यकता हुन्छ । वार्ड भन्छिन् –‘यो थाइरायड हार्मोनले कोशिकाको रक्षा गर्छ । आयोडिनको गम्भिर रुपमा कमी हुँदा गर्भपतनको पनि खतरा हुन सक्छ ।
डिमार्को भन्छिन् –‘आयोडीनको कमी भयो भने जन्मने शिशुमा धेरै असर पर्छ । उसमा विभिन्न किसिमको न्यूरोलजिकल समस्या आउन सक्छ । यो बाहेक आयोडिनको कमीका कारण जन्मने शिशुको दिमाग ड्यामेज हुने पनि खतरा हुन्छ ।’
आयोडिनको कमी भएको कसरी थाहा पाउने ?
यदि तपाईं आफ्नो आयोडिनको स्तरको बारेमा थाहा पाउन चाहनुहुन्छ भने त्यसको परीक्षण पनि गराउन सक्नु हुन्छ । यसका लागि तपाईंले यूरीन टेस्ट (पिसाबको जाँच)गराउनु पर्छ, किनभने आयोडिन यू्रीनको माध्यमबाट शरीरबाट बाहिर निस्कन्छ । यसको जाँचबाट तपाईंमा आयोडिनको कमी छ कि छैन भन्ने थाहा हुन्छ ।
आयोडिनयुक्त खाना
आयोडिनयुक्त नून बाहेक खानपानका केही त्यस्ता कुराहरु छन्, जसले आयोडिन बढाउने काम गर्छ । जस्तै माछा, दुध, चीज, अण्डा, पोलेको आलु, दही र ब्राउन राइसको नियमित सेवनले शरीरमा आयोडिनको मात्रा बढ्छ ।



