प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले तोकिएको मिति अर्थात आगामी २०७८ वैशाख १७ र २७ मै चुनाव हुने दोहोर्याएका छन् ।

उनले पञ्चायत र राजतन्त्रसँग घुँडा नटेकेको भन्दै अहिले कसैसँग घुँडा नटेक्ने बताए ।

चितवनको भरतपुरमा शनिवार नेकपाले आयोजना गरेको जन सभालाई सम्वोधन गर्दै ओलीले चुनाव घोषणा अल्मल्याउन गरिएको भन्नेलाई अल्मलिन दिएर चुनावी तयारीमा लाग्न कार्यकतालाई निर्देशन दिएका हुन् ।

‘हामीले चुनावको घोषणा गरेका छौं, यो मिति तलमाथि पर्दैन । यो चुनावको घोषणा अल्मल्याउन गरेको भनेका छन्, उनीहरुलाई भन्न दिनुस् । घोषणा गरिएकै मितिमा चुनाव हुन्छ’ ओलीले भने, ‘चुनावमा कुनै गल्ती नगरी जनताको निम्ती काम गर्ने, साइनो सम्बन्ध देशभित्र भएको । जनताको हितमा काम गर्नेलाई मात्र जिताउनु पर्छ । नाभी अन्तै जोडिएकाहरुलाई छान्नु हुँदैन ।’

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृह जिल्लामा आयोजित सभामा ओलीले गफाडी नेतालाई नभइ विकास प्रेमीलाई जिताएर पठाउन आग्रह गरे । ‘चुनावको बेला माडिमा गएर मणि बनाउछु भनेको थिए, जसलाई जिताए, मणि बनाउन जिताएको कुहिएको आलु बनेछ’ प्रचण्डप्रति लक्षित गर्दै ओलीले भने ।

राष्ट्रिय हितको रक्षा, स्वाधीनता को सही अर्थमा प्रयोग आफू नेतृत्वको सरकारले मात्र गर्ने ओलीले दावी गरे । ‘तपाईहरुले धोका पाउनु हुन्न, तपाईंहरुको अगुवाइ, देशको राष्ट्रियता, राष्ट्रिय हितको रक्षा, स्वाधीनता को सही अर्थमा प्रयोग, देशको भूगोलको रक्षा अहिलेको नेतृत्व, अहिलेको सरकारले गर्नेछ । त्यसको अगुवाइ मैले गर्छु’ ओलीले भने, ‘घुँडा टेक्नु पर्ने कोही छैन, देशको विकास गरेर छाडिन्छ ।’

ओलीले चुनाव भन्दा अगाडि चितवनमै फेरि सभाका लागि आफु आउने बताए । ‘चुनाव भन्दा अगाडि म फेरि यो ठाउमा सभामा सम्वोधन गर्न आउने छु, यो कास्टिङ हो । अबको सभा यो भन्दा दुई गुणा ठूलो हुनेछ,’ ओलीले भने ।
कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभा विघटनलाई जनताले अनुमोदन गरेको र देश निर्वाचनमा होमिएको उनले दावी गरे ।

‘उनीहरुले प्रधानमन्त्रीलाई अपदस्थ गर्ने षडयन्त्र गरे, उनीहरुको षडयन्त्र असफल पार्न सरकार र पार्टीले संसद विघटनको ऐतिहासिक कदम उठायो । संसदको दुरुपयोग गरेर सरकारको नेतृत्व अपदस्थ गर्ने र देशमा अस्थिरता पैदा गर्न चाहन्थे, त्यो रोक्न बाध्यात्मक र साहसिक कदमको रुपमा संसद विघटन गरिएको हो’ थापाले भने ।लोकान्तर बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर