
नेपाल दूरसञ्चार प्राधिकरणले ३१ जिल्लामा ब्रोडब्याण्ड नेटवर्क निमार्णको काम सम्पन्न गरेको छ । प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको रकम परिचालन गरी सञ्चालित परियोजनाको काम ३१ जिल्लामा सम्पन्न गरेको हो । यस परियोजना अन्तर्गत ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, अछाम, बझाङ्ग, बाजुरा, बैतडी, डढेल्धुरा, दार्चुला, डोटी, जाजरकोट, कालिकोट, रोल्पा, रुकुम पूर्व र रुकुम पश्चिम लगायतका जिल्लामा मर्कन्टाइल कम्युनिकेशन, भायानेट कम्युनिकेशन र वर्ल्डलिंक कम्युनिकेशनले ब्रोडब्याण्ड नेटवर्क निर्माणको काम सम्पन्न भएको छ ।
यस्तै डोल्पा, जुम्ला, हुम्ला, मुगु, दैलेख, सुर्खेत, सल्यान, मनाङ, मुस्ताङ, बाग्लुङ, म्याग्दी, पाँचथर, भोजपुर, धनकुटा, तेह्रथुम र खोटाङ जिल्लामा वर्ल्डलिंक र टेकमाइन्ड्स् नेटवर्कले सेवा विस्तारको काम सम्पन्न गरेको प्राधिकरणले एक सुचना सार्वजनिक गर्दै जनाएको छ ।
योसँगै यी जिल्लाका नगरपालिका, गाउँपालिका, वडा कार्यालय, सामुदायिक विद्यालय र सामुदायिक स्वास्थ्य संस्था र केन्द्र र अस्पतालमा दुई वर्षका लागि निःशुल्क इन्टरनेट उपलब्ध हुनेछ ।
यीमध्ये कतिपय जिल्लामा काम सम्पन्न भएको दुई वर्ष पुरा भएर निस्शुल्क सेवा प्रयोग गर्ने अवधि समेत समाप्त भइसकेको छ । भने, कतिपय जिल्लामा अझै बाँकी रहेको प्राधिकरणले जनाएको छ ।
निस्शुल्क अवधि सकिएका जिल्लाको हकमा सम्बन्धित निकायले प्राधिकरणले तोकेको मूल्यमा इन्टरनेट प्रयोग गर्न सक्नेछन् ।