धादिङ : गएको वैशाख यता पृथ्वीराजमार्गमा सुन्दा सामान्य तर अनौठो किसिमको चोरी हुन थाल्यो । राजमार्ग छेउछाउमा पार्किङ गरेर राखिएका गाडीका ब्याट्री, अतिरिक्त टायर, डिजेल, गाडीका पाटपुर्जा, यात्रुका सामान हराउन थालेको गुनासो दैनिक जसो प्रहरीमा आउन थाल्यो ।

रोकेर राखेका गाडीका टायरदेखि झोलासम्म हराएको गुनासो दैनिक आउन थालेपछि इलाका प्रहरी कार्यलय गजुरीले शंकास्पद स्थानमा आफ्नो निगरानी बढायो । यसै क्रममा गत कार्तिक ७ गते ३ जना मिलेर सवारी साधनसहित आएका व्यक्तिले मध्यरातमा पृथ्वी राजमार्ग अन्तर्गत गजुरी गाउँपालिका ६ घाटवेशीमा अर्काे सवारी साधनमा चोरी गर्दै गरेको सीसीटीभी फुटेजमा देखियो ।

इलाका प्रहरी कार्यलय गजुरीका डीएसपी युवराज खड्काले भने, ‘रातको समयमा त्यसैमाथि अलि टाढाको सीसी क्यामेराले खिँचेको भएर प्रष्ट चिन्न सकिएन । चोरी भएको हो भन्ने पत्ता लाग्यो तर तत्काल मान्छे र सवारी साधनको पहिचान गर्न सकिएन, त्यसपछि प्रहरीले निगरानी बढाएर अनुसन्धान थाल्यो ।’

लगत्तै प्रहरी निरीक्षक भोजराज पाण्डेलाई अनुसन्धान अधिकृत तोकी प्रहरीले अनुसन्धान बढायो । यसैक्रममा भिडियोमा कैद भएको एक महिनापछि मंसिर ९ गते घाटवेशीकै सोही स्थानमा शंकास्पद गतिविधि गरिरहेको स्थानीयले देखेपछि प्रहरीलाई खवर गरे । प्रहरी आउँदै गरेको थाहा पाएपछि चालक बस लिएर फरार भए । स्थानीयको र प्रहरीको सहयोगमा पृथ्वीराजमार्गको थाक्रे गाउँपालिका २ सिम्लेबाट उदयपुरको गाइघाट नगरपालिका ९ का बस चालक सद्धाम राइनसहित बा २ ख ६१०६ नम्बरको बस नियन्त्रणमा राजमार्गमा हुने अनौठो चोरीको घटनाक्रमको रहस्य सार्वजनिक भएको हो ।

प्रहरी निरीक्षक पाण्डेले भने, ‘सुरुमा चालक राइन पक्राउ परेपछि उनको बयानको आधारमा अरु २ जना पक्राउ गरेर प्रहरीले अनुसन्धान अघि बढायो ।’

पक्राउ परेका अन्य दुईजना धादिङको सिद्धलेक गाउँपालिका–६ का रविन घले र कमल घले हुन् । बस चालक राइनको सूचनाको आधारमा उनीहरुको मोवाइल ट्रेस गरेर सादा पोशाकमा गएका गजुरी प्रहरीको टिमले महानगरीय प्रहरी परिसर काठमाडौं सहयोगमा माछापोखरी र स्वयंम्भुबाट पक्राउ गरेर ल्याएका थिए ।

‘रातको समयमा उनीहरुको राजमार्गमा सक्रियता बढ्ने रहेछ । ठूलो बस लिएर प्रहरीले गस्ती गरे झैँ हिँडिरहने, अलिकति चोर्न सजिलो हुने ठाउँ तथा गाडी पार्किङ गरिरहेको ठाउँ फेला परेपछि आफ्नो बस पनि त्यही पार्किङ गर्ने र चोरी गर्ने रहेछन् ।’

प्रहरी निरीक्षक पाण्डेले भने, ‘सुरुमा सवारी साधनका अतिरिक्त टायर, ब्याट्री, अन्य पाटपुर्जा चोर्ने र मिलेसम्म तेल पनि चोर्ने रहेछन् । कतिसम्म भने गाडीमा जग लगाएर गुडाइरहेको टायरै समेत फुकालेर चोर्ने गरेका रहेछन्।’

केही समय अघि धादिङबाट काठमाडौँ जाँदै गर्दा एक गैर सरकारी संस्थामा कार्यरत महिलाको ल्यापटप सहितको झोला पार्किङ गरेको ठाउँबाट हराएको थियो । ‘सबै यात्रु चिया नास्ता र शौचालय जान ओर्लिए, म पनि गाडी भित्रै झोला राखेर शौचालय गएँ ।’ ती महिलाले भनिन्, ‘चिया खाएर गाडीमा फर्किदा राखेको ठाउँमा झोला नै थिएन, गाडीमा हल्लाखल्ला हुँदा एक जना व्यक्तिले झिकेको बाहिरबाट देखेको बताए ।’

कतिपय ठाउँमा चिया नास्ता खान रोकेको बेला गाडीबाट यात्रुहरुको झोलासमेत चोरी गर्ने गिरोह पनि यही हुन सक्ने प्रहरीले अनुमान गरेको छ । तर बयानका क्रममा उनीहरुले यात्रुहरुको सरसामान चोरेको स्वीकारेका छैनन् ।
उनीहरु पक्राउ परेपछि राजमार्ग क्षेत्रमा सवारी साधनमा चोरी हुने गरेको, टायर र गाडीका पाटपुर्जा हराएको जस्ता सूचना आउन छाडेको डीएसपी खड्काले बताए ।

प्रहरीले पक्राउ परेका तीन जनालाई मलुकी अपराधसंहिता २०७४ को परिच्छेद २० को दफा ४४ अनुसार डाँका–चोरी मुद्दामा ७ देखि १० वर्षसम्मको कैद सजाय माग गर्दै मुद्दा चलाएको छ । जिल्ला अदालत धादिङको आदेशपछि तिनैजना पुर्पक्षको लागि जेल चलान भइसकेका छन् ।

त्यस्तै कसुरजन्य सम्पत्ति तथा साधन (रोक्का, नियन्त्रण र जफत) ऐन २०७० अनुसार चोरीमा संलग्न भएको बस पनि जफत गरिएको इलाका प्रहरी कार्यलय गजुरीले जनाएको छ । बस काठमाडौंको एक सहकारीको नाममा रहेको र ऋणी रविन घले नै रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर