नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) झापाका नेता रवतराज पुरी (‘गगन )सहित ६ जनाविरुद्ध सम्पत्ति शुद्धिकरण निवारण ऐन, २०६४ अनुसारको मुद्दा दर्ता भएको छ । दमक–८ मा सरकारी जग्गा हडपेर सम्पत्ति आर्जन गरेको निष्कर्षसहित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बुझाएको प्रतिवेदनका आधारमा विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।मुद्दामा नेता पुरीकी श्रीमती केशावती पुरी, आफन्त मनमाया पुरी, देवकुमार पुरी, कृष्णकुमार पुरी र संगीता पुरीलाई प्रतिवादी बनाइएको छ ।

सरकारी जग्गा हडपेर पुरीले १२ करोड १३ लाख ७२ हजार १७८.८६ रुपैयाँ र श्रीमती केशावती पनि सोही बराबरको अकुत सम्पत्ति आर्जन गरेको निष्कर्ष विभागले निकालेको छ । त्यस्तै, आफन्त मनमायाविरुद्ध ९९ लाख ४ हजार ७५०।२२ र देवकुमारीविरुद्ध ४६ लाख २४ हजार ८४२.२२ रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको निष्कर्ष निकाल्दै मुद्दा दायर गरिएको छ । संगीता र कृष्णकुमारीको हकमा बिर्तामोडमा रहेको ७ रोपनी १ आना जग्गा जफत गर्नुपर्ने भनिएको छ । संगीता र कृष्णकुमारीको नाममा जग्गा भए पनि वास्तविक धनी रेवतराज भएको विभागको अनुसन्धानले देखाएको छ । पुरीको नाममा जग्गा पार्न सहयोग गर्ने अन्यविरुद्ध पनि विभागले अनुसन्धान जारी राखेको स्रोतले बताएको छ । स्रोतले भन्यो, ‘थप प्रतिवादीविरुद्ध फेरि अर्को मुद्दा दायर हुन्छ ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी ) ले गरेको अनुसन्धानमा पुरीले राजनीतिक पृष्ठभूमिको फाइदा उठाउँदै सरकारी कागजात कीर्ते गरेर दमकस्थित बालुवाटारको २४ बिगाहा जग्गा हत्याएको पाइएको थियो ।

प्रहरीले चलाएको कीर्ते मुद्दामा अदालतबाट ७ चैत २०७६ मा धरौटी तिरेर उनी छुटेका थिए । यद्यपि, प्रहरीले उनीविरुद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा पनि अनुसन्धान गर्नुपर्ने राय दिएको थियो । विभागले ९ मंसिरमा उनलाई पक्राउ गरेर अुकत सम्पत्ति आर्जन गरेको आशंकामा अनुसन्धान थालेको थियो ।