नेकपा (प्रचण्ड–माधव) समूहले आह्वान गरेको आमहड्तालको झापामा यातायात र शैक्षिक संस्थामा प्रभाव परेको छ। यातायातका साधन फाट्टफुट्ट सञ्चालनमा आए पनि शैक्षिक संस्था भने अधिकांश ठप्प छन्।पूर्व पश्चिम राजमार्गले छोएका संस्थागत विद्यालय भने बिहानैदेखि ठप्प छन्।सरकारी कार्यालय खुले पनि सेवाग्राही भने छैनन्। झापाका प्रमुख जिल्ला अधिकारीका श्रवणकुमार तिमिल्सिनाका अनुसार सरकारी कार्यालयमा कर्मचारी पुगिसकेका छन् तर सेवाग्राही भने बन्दका कारण अनुपस्थित छन्।जिल्लाका भित्री बस्तीमा रहेका विद्यालयमा भने बन्दको प्रभाव खासै परेको छैन। राजमार्गमा सार्वजनिक यातायातका साधन छिटफुट सञ्चालनमा छन्।

जिल्लाका साप्ताहिक रूपमा बन्द हुने बजारबाहेक कुनै पनि बजार बन्द भएका छैनन्। विर्तामोड, दमक, झिलझिले, शिवगञ्ज, गौरादह, शनिश्चरे, भद्रपुर, धुलाबारी लगायतका बजारका पसल खुलेका छन्।सडकमा आमहड्ताल आह्वान गर्ने प्रचण्ड–माधव समूहका नेता, कार्यकर्ता देखिएका छैनन्। झापाका प्रहरी प्रमुख एसपी सानुराम भट्टराईका अनुसार सडकमा बन्दकर्ता नदेखिनु र तोडफोड जस्ता क्रियाकलाप नभएकाले कसैलाई पनि नियन्त्रणमा लिनु परेको छैन।उनले भने, ‘अहिलेसम्म अप्रिय घटना कहीँ छैन, शान्तिपूर्ण नै छ।’झापाको मुख्य राजमार्गका विभिन्न ठाउँमा सुरक्षाका लागि प्रहरी परिचालन गरिएको उनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर