
काठमाडौं : सातौं संस्करणको अन्नपूर्ण पोस्ट् ‘राइड फर लाइफ’ साइकल र्याली भव्य रूपमा सम्पन्न भएको छ। क्यान्सरविरुद्ध जनचेतना जगाउन र साइकलमैत्री समाज निर्माण अभियानमा टेवा पुर्याउने उद्देश्यले ‘क्यान्सरविरुद्ध चेतना छरौं वातावरण जोगाएर, साइकल चढौं स्वस्थ रहौं दूरी कायम गरेर’ नाराका साथ आयोजना गरिएको र्याली शनिबार बिहान तीनकुनेस्थित अन्नपूर्ण पोस्ट्को कार्यालय परिसरबाट सुरु भई गौशाला, चाबहिल, महाराजगन्ज, गोँगबु, बालाजु, सोह्रखुट्टे, लैनचौर, दरबारमार्ग, रत्नपार्क, भद्रकाली, त्रिपुरेश्वर, थापाथली, माइतीघर, नयाँ बानेश्वर हुँदै पुनः तीनकुनेमै पुगेर समापन भएको थियो।
र्यालीको उद्घाटन युवा तथा खेलकुदमन्त्री दावा लामा तामाङ, अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापा, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाल, एनआरएनएका पूर्वअध्यक्ष उपेन्द्र महतो, क्यान्सर केयर फाउन्डेसनका अध्यक्ष तथा पूर्वमहान्यायाधिवक्ता सुशील पन्त, डा. जेपी अग्रवाल, रथी प्रभुराम शर्मा, एआईजी पुष्पराम केसी, अन्नपूर्ण मिडिया नेटवर्कका ग्रुप डाइरेक्टर सचन थापा, ग्रुप सीईओ सनत न्यौपाने, सीईओ मानस घिमिरेलगायतले संयुक्त रूपमा गरेका थिए।
उद्घाटन कार्यक्रममा सहभागीलाई अन्नपूर्ण पोस्ट्का सम्पादक अखण्ड भण्डारीले स्वागत गरेका थिए। क्यान्सर केयर फाउन्डेसनका अध्यक्ष तथा पूर्वमहान्यायाधिवक्ता सुशील पन्तले क्यान्सर रोगबाट बच्ने र सावधानी अपनाउने तरिकाबारे जानकारी गराएका थिए।
नेपाल साइकल संघका अध्यक्ष गोपालसुन्दरलाल कक्षपतिले साइकल र्यालीले आममानिसमा सचेतना जगाउनुका साथै खेलाडीका रूपमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने बताए। नेपाल साइकल सोसाइटीका अध्यक्ष रत्नराम श्रेष्ठले साइकल चढ्नुको महत्त्व र यसले वातावरणमा पार्ने सकारात्मक प्रभावका बारेमा प्रकाश पारेका थिए।
विगत पाँच वर्षदेखि साइकल र्यालीमा सहभागी हुँदै आएका ११ वर्षीय बालक सुयोगमानसिंह बस्नेतले साइकल चढ्नाले मानिसलाई स्वस्थ बनाउनुका साथै वातावरण संरक्षण गर्न र सवारीसाधनको इन्धनका लागि दैनिक रूपमा खर्च हुने करोडौं रुपैयाँ जोगिने बताए।
साइकल फर अलका अध्यक्ष सुदीप पौडेलले र्यालीका सहभागीलाई साइकल चलाउँदा अपनाइने सुरक्षा र सावधानीबारे जानकारी दिएका थिए। र्यालीमा पाँच वर्षदेखि ७९ वर्ष उमेर समूहका एक हजार पाँच सयभन्दा बढी साइकलयात्रीको सहभागिता थियो।