स्याङजा । नेकपाको प्रचण्ड–नेपाल समूहका स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले केपी ओलीलाई जनताले नभई पार्टीले प्रधानमन्त्री बनाएको बताएका छन् । ओलीले आफू जनताबाट प्रधानमन्त्री चुनिएको र विशेषाधिकार रहेको झुठो दाबी गरेको भन्दै पुनले ओली जनताबाट नभई संसदबाट प्रधानमन्त्री चुनिएको बताए ।

देशभरका १ सय ६५ निर्वाचन क्षेत्रबाट एक÷एक र १ सय १० जना समानुपातिकबाट गरी २ सय ७५ सांसद मात्र जनताले छान्ने मन्त्री पुनको स्पष्टोक्ति छ । ‘ओलीजी प्रधानमन्त्रीको उम्मेदवार भएर देशभरका जनताले भोट हालेको होइन’, पार्टी सम्वद्ध युवा र विद्यार्थीको भेलालाई आइतबार स्याङजामा सम्बोधन गर्दै पुनले भने, ‘उहाँ झापाको एउटा क्षेत्रबाट निर्वाचित सांसद हो, देशभरबाट होइन । उहाँले जसरी १ सय ७५ जना सांसदले चुनाव जितेका छन् ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रधानमन्त्री ओलीले सार्वजनिक अभिव्यक्तिहरुमा आफू पाँच वर्षका लागि जनताबाट प्रधानमन्त्री निर्वाचित भए पनि पार्टीभित्रैको अवरोधले काम गर्न नपाएकाले संसद विघटन गरेको दाबी गर्दै आएका छन् । ओली सरकारमा तीन वर्ष ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री रहेका पुनले ओलीले पार्टीले पाँच वर्ष सरकार चलाउन दिएको जनमतमाथि घात गरेको टिप्पणी गरे ।

पार्टीले चुनावी घोषणापत्रमार्फत अघि सारेका समृद्धिको अभियानबाट ओली भागेको पुनले आरोप लगाए । ‘ओली जनमतबाट, समृद्धिको अभियानबाट र कम्युनिष्ट आन्दोलनबाट भागेको भगौडा हो’, पुनले भने । ओलीले सत्ता प्राप्तिका लागि मात्र गणतन्त्र, धर्मनिरपेक्षा, समावेशीता, सामाजिक न्यायका एजेण्डा स्वीकार गरेको पुनको भनाइ छ ।

तर, ती राजनीतिक एजेण्डामा ओलीको स्वामित्व नरहेको आरोप पुनले लगाए । यस्तै ओलीले सत्ता र शक्तिका प्राप्तिका लागि मात्र पार्टी एकता गरेको घटनाक्रमले पुष्टि भएको दाबी पुनले गरे । ओलीले संविधानमै नभएको अधिकार प्रयोग गरी प्रतिनिधिसभा विघटन गरेको चर्चा गर्दै पुनले अदालतले संसद पुनस्र्थापना गर्ने विश्वास व्यक्त गरे ।

ओली र उनका समर्थकले संविधानअनुसार संसद विघटन गरेको दाबी पेस गर्न नसकेका कारण अन्तर्राष्ट्रिय अभ्यासको हवाला दिँदै हिंडेको बताए । ‘प्रधानन्यायाधीशले संवैधानिक इजलासमा ओलीका वकिललाई संसदीय व्यवस्था भएका संसरका २ सय देशमा संविधानमै नलेखी संसद विघटन भएको एउटा उदाहरण दिनुस् भन्दा उनीहरले त्यस्तो छ छैन, पढेका छौनौं भनिरकेका छन्’, पुनले भने, ‘ नेपालको संविधानमा प्रधानमन्त्रीले संसद भंग गर्न पाउने कुनै प्रबन्ध छैन । अन्तर्राष्टिय अभ्यास भनिरहनुभएको छ, कुन देशमा त्यस्तो अभ्यास छ त्यो पनि भन्न सक्नुभएको छैन ।’

ओली समूहले कार्यकर्ता पाल्न जनताले तिरेको राजश्वको दुरुपयोग गरिरहेको भन्दै पुनले आपत्ति जनाए । निर्वाचन घोषणा गरेर आफैंले आफैंलाई कामचलाउमा सीमित गरिसकेको सरकारले देशका ७७ वटै जिल्लामा विशिष्टि श्रेणीका एक/एक र उप–सविच स्तरका दुई/दुई जनाका दरले भूमि आयोगमा गुटका कार्यकर्ता भर्ती परेर राज्यश्रोतको दोहन गरेको मन्त्री पुनले चर्चा गरे ।

पुनले संसद पुर्नस्थापनापछि प्रधानमन्त्री ओलीले निर्वाचन घोषणापछि गरेका सबै नियुक्ति र असंवैधानिक निर्णय खारेज गरिने स्पष्ट गरे । पुनले आफूहरु सत्ताका लागि नभई ओलीको स्वेच्छाचारिता र निरंकुशताविरुद्ध तथा संविधान, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षताजस्ता राजनीतिक उपलब्धी रक्षाका लागि आन्दोलनमा होमिएको बताए ।

फरक प्रसंगमा उनले ४ सय ४१ सदस्यीय केन्द्रीय समितिका ७० प्रतिशत बढी सदस्य प्रचण्ड–नेपाल समूहमा रहेकाले मूलधार आफूहरु नै भएको उल्लेख गरे । केन्द्रीय समितिदेखि गाउँ कमिटीसम्म र संसदमा समेत आफूहरु बहुमतमा रहेकाले पार्टीको आधिकारिकता र चुनाव चिन्ह पनि आफूहरुले नै पाउने दाबी पुनको छ । रातो पाटि बाट साभार