कर्णाली करिडोर जोड्ने कालिकोटको नरहरिनाथ गाउँपालिका–८ मा रहेको खुलालुको पक्की पुलको निर्माण तीव्रगतिमा भइरहेको छ । कर्णाली राजमार्गबाट गौरवको आयोजनाका रूपमा मानिएको कर्णाली करिडोर जोड्ने खुलालु पक्की पुलको शिलान्यास गरेको १४ वर्षपछि पुल निर्माणले गति लिएको हो ।दुईपटक शिलान्यास भएको पुल एक दशक बित्दासम्म निर्माणकार्यले तीव्रता पाउन सकेको थिएन । एक दशकपछि अलपत्र पुलको आगामी असारसम्म निर्माण सम्पन्न गरिसक्ने पुल निर्माणको जिम्मा पाएको प्रगति कन्काई नेपाल प्रालिले जनाएको छ । सडक डिभिजन कार्यालय जुम्लाले निर्माण कम्पनीलाई पुल निर्माणको नक्शा नदिँदा अलपत्र परेको निर्माण कम्पनीका प्रतिनिधि दीपक मैनालीले बताउनुभयो । “नक्शा पाइसकेपछि विसं २०७४ देखि निर्माण शुरु गरेका थियौँ”, उहाँले भन्नुभयो, “कर्णाली नदीको पानी कम भएपछि हिउँदको छ महिना काम हुने, वर्षामा पानी बढेर काम गर्न सकिएन त्यसकारणले पनि निर्माणमा ढिलाइ भयो ।”पुलको लागत रु १६ करोड बढी रहेको र कोरोना भाइरसका कारणले देशमा लकडाउन नभएको भए गत साउनमै निर्माण सम्पन्न गरिसक्ने निर्माण कम्पनीका प्रतिनिधि मैनालीले बताउनुभयो । “देशमा लकडाउन नभएको भए गत आर्थिक वर्षमै निर्माण गरिसक्ने योजना रहेको थियो”, उहाँले भन्नुभयो, “अब यस आवको असार समान्तसम्ममा निर्माण पूरा हुन्छ ।”
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Sawal Nepal