मोरङ– प्रधानमन्त्री केपी शर्मा ओली फागुन ८ गते विराटनगरमा आयोजना हुने प्रदेश १ स्तरीय बृहत् आमसभामा सहभागि हुने भएका छन्।
विराटनगरस्थित नेकपाको पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा केन्द्रीय सदस्य राजेन्द्र गौतमले ८ गते हुने आमसभाको तयारी सुरु भएको जानकारी दिए।
आमसभा प्रचार–प्रसार समिति प्रथम बैठक संयोजकसमेत रहेका गौतमले आमसभालाई सम्बोधनका लागि प्रधानमन्त्री ओलीसँगै गृहमन्त्री रामबहादुर थापा, स्थायी कमिटि सदस्य सुवास नेम्वाङ आउने जानकारी दिए।
पत्रकार सम्मेलनका क्रममा आमसभामा १ लाख ३६ हजार ६ सय ५६ जनालाई सहभागिता गराइने तयारी भएको गौतमले बताए। फागुन ६ गते इटहरी र विराट चौक केन्द्रित गर्दै १० हजारको संख्यामा मोटरसाइकलको आयोजना गर्ने कार्यक्रम तय भएको उनले बताए।
फागुन ७ गते विहान विराटनगर, इटहरी, धरान, इनरुवा, विराट चौक, दमक र विर्तामोडमा युवा समूहद्वारा प्रभातफेरि हुने उनको भनाइ छ।
आमसभामा सहभागिताका लागि हिमाल, पहाड, तराईका जिल्ला कमिटीहरुलाई आवश्यक निर्देशनसहित जिम्मेवारी तोकिएको जनपरिचालन समितिको सचिवालय सचिव एवं केन्द्रीय सदस्य विनोद ढकालले दिए।
प्रदेश कमिटी अध्यक्ष देवराज घिमिरेको नेतृत्वमा १ हजार १ सय ११ सदस्यीय जनपरिचालन मूल समिति गठन भएको बताएका सचिवालय सचिव ढकालले आमसभा भव्य र सभ्य बनाउने बताए।



