काठमाडौं महानगरपालिकाले खुलामञ्चलाई खुला गर्ने अभियान थालेको छ । महानगरले दरबार हाइस्कुल, वीर अस्पताललगायतका संरचना निर्माणका लागि राखिएको सामग्री हटाउन थालेको हो ।राष्ट्रिय महत्वको संरचना दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको समेत पुनर्निर्माण कार्य सम्पन्न हुने चरणमा पुगेको भन्दै ती संरचना पुनर्निर्माणका लागि थुपारेका निर्माण सामग्री र संरचना हटाएर महानगरले खुला गर्ने पहल सुरु गरेको हो । ‘राष्ट्रिय महत्वको संरचना दरबार हाइस्कुल र वीर अस्पतालको पुनर्निर्माणको क्रममा त्यहाँ प्रयोग हुने निर्माण सामग्रीहरु र त्यहाँ काम गर्ने केही कामदारलाई राख्नका लागि उहाँहरुको आग्रहमै हामीले त्यहाँ सहमति दिएका थियौँ,’ काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले भने ।

‘वीर अस्पताल र दरवार हाइस्कुलको पुनर्निर्माण सम्पन्न हुने चरणमा पुगेपछि हामीले आजदेखि उहाँहरुलाई पनि जानकारी दिएर खुलामञ्चलाई खुला गर्ने अभियान थालेका हौँ ।’ शाक्यले अब बसपार्क पनि खुला गर्ने जानकारी दिए । ‘काठमाडौँ महानगरपालिका सार्वजनिक जग्गाको संरक्षण अभियानमा लागि परेको छ,’ शाक्यले भने, ‘खुलामञ्च मात्रै होइन महानगरपालिका क्षेत्रभित्रका अतिक्रमित सार्वजनिक जग्गालाई महानगरपालिकाले खोजी गरी पार्क बनाउने, खुला राख्ने जस्ता अभियान चलाएको छ । त्यस्तो कतै जानकारी छ भने हामीलाई भन्नुहोला ।’

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले पनि मेयर शाक्यको निर्देशनअनुसार नै खुला गर्ने अभियान थालेको बताए ।पछिल्लो समय हरेक दिनजसो सडकमा हुने विशाल विरोध प्रदर्शन, र्याली, आमसभा लगायतले महानगर क्षेत्र भित्रका सडकहरु अस्तव्यस्त बन्ने गरेको र त्यसको मार महानगरवासीले खेप्नु परेकोप्रति थप ध्यानाकर्षण भएकाले महानगरले अझ छिटोभन्दा छिटो खुलामञ्च खुला गर्ने पहल थालेको ज्ञवालीले बताए ।

‘विभिन्न राजनीतिक दलले सडकमै मञ्च बनाएर ठूल्ठूला सभा गर्दा पछिल्लो समय महानगरपालिका क्षेत्र भित्रको ट्राफिक आवागमनसँगै व्यापार–व्यवसाय पनि अस्तव्यस्त बन्ने गरेको छ,’ ज्ञवालीले भने ।ज्ञवालीले महानगरपालिका विकास निर्माणसँगै मिचिएका सार्वजनिक जग्गा फिर्ता गरी खुला गर्ने अभियानमा आक्रमक रुपमा अघि बढेको जानकारी दिए ।




