विष्णुप्रसाद पोखरेल/ दमक/प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकमा आएर मदन भण्डारी राजमार्ग अन्तर्गत निर्माण हुने पुर्वी खण्डका ३२ वटा पुलको एकैपटक शिलन्यास गर्ने भएकाछन् । झापाको दमकमा आँउदो फागुन १६ गते प्रधानमन्त्री ओली आउने तयारी रहेको छ ।
ठाँउठाँउमा मदन भण्डारी राजमार्गको काम भएपनि पुर्वी खण्डमा शुरु भएको छैन । बाहुण्डाँगीदेखि धरानसम्म सर्वे सम्पन्न भएर ठेक्का प्रक्रियामा पुग्न लागेको बताईदै आएको छ । यद्यपी पुलहरु भने निर्माणको काम शुरु हुने चरणमा पुगेको छ ।
राजमार्ग निर्माणका लागि दमकमा नै कार्यालय पनि स्थापना भएर काम शुरु गरिसकेको छ । चुरेको फेदी तथा दमक हुँदै यो राजमार्ग बन्ने बताईन्छ । यसले दमकको विकास मात्र नभएर देशको विकासलाई पनि ठुलो सहयोग पुर्याउने छ ।
प्रधानमन्त्री ओलीले दमकमा एउटा पुलको उद्घाटनमा सहभागि भएर सबै पुलको उद्घाटन भएको घोषणा गर्ने कार्यक्रम रहेको छ । एकैसाथ सबै पुलहरु निर्माण शुरु हुनेछ, प्रधानमन्त्री ओलीको सचिवालय श्रोतको भनाई छ ।
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिब एवं नेकपाका केन्द्रिय सदस्य इन्द्र भण्डारी, विकास हेर्ने सचिवालयका सदस्य होमबहादुर थापा लगायतको टोलीले प्रधानमन्त्री सहभागि हुने कार्यक्रमहरुको तयारीको बिषयमा अनुगमन गर्दै आएकाछन् ।
पुर्वी नेपालको करिब १३५ किलोमिटर राजमार्ग निर्माणका लागि छुट्टै कार्यालय दमकमा छ । सडक डिभिजन कार्यालय परिसर भित्र नै कार्यालय शुरु भएको छ । कार्यालय प्रमुख सहित केहि कर्मचारी आइसकेको पनि जनाईएको छ ।



