प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेश सभा सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव प्रदेश सभा बैठकमा पेश भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड- माधव नेपाल समूहका ३२ सांसदका तर्फबाट दर्ता भएको अविश्वासको प्रस्ताव पूर्व मन्त्री समेत रहेका सांसद इन्द्र आङ्बोले आइतवार प्रदेश सभामा पेश गरेका हुन् ।

प्रतिनिधि सभा विघटन सम्बन्धमा मतान्तर भएकाले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको आङ्बोले बैठकमा बताए ।

‘राजनीतिक रूपमा नेकपा विभाजित भएर आ-आफ्ना गतिविधि अगाडि बढिरहेको कुरा सर्वविधितै छ । प्रधानमन्त्रीज्यूले चाल्नुभएको कदमका विषयमा हामीबीच मततान्तर रहन गयो । माननीय मुख्यमन्त्रीज्यूले यसलाई अग्रगमन र प्रधानमन्त्रीको बाध्यकारी कदम भन्नुभएको छ, तर हामीले यसलाई गम्भीर र प्रतिगामी कदमको रूपमा लिएकाले मुख्यमन्त्रीप्रति हामी सहमत हुन सकेनौं,’ प्रस्ताव पेश गर्दै आङ्बोले भने ।

शुरूमा ३७ सांसदको हस्ताक्षरसहित प्रस्ताव पेश गरिएकोमा विभिन्न मितिमा ५ जनाले हस्ताक्षर फिर्ता लिएको सभामुख प्रदीपकुमार भण्डारीले बैठकमा जानकारी गराए ।

अविश्वासको प्रस्तावमा सांसद आङ्बो प्रस्तावक र लक्ष्मण तिवारी समर्थक छन् ।

प्रचण्ड नेपाल पक्षका सांसदहरूले पुस १२ गते प्रदेश सभा सचिवालयमा दर्ता गरेको प्रस्ताव झण्डै २ महिनापछि आइतवार प्रदेश सभामा पेश भएको हो ।

प्रस्ताव पेश भएसँगै प्रदेश सभाको बैठक फागुन २० गते बिहीवार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।

प्रतिनिधि सभा विघटन भएपछि बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध पनि अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

बैठक पटक-पटक स्थगित हुँदा उक्त प्रस्ताव प्रदेश सभामा पेश हुन भने पाएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय