स्वास्थ्य उपचारका लागि भारतको नयाँ दिल्ली पुगेका पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आफ्नो स्वास्थ्य लाभको कामना गर्ने सबैप्रति धन्यवाद प्रकट गरेका छन् । शरीरको कुनामा पलाएको ट्युमर सामान्य कि घातक के हो भनेर छुट्याउन नसकेर विदेशमा आइपुगेको भन्दै उनले जसका कारण आफूले अत्यन्त लज्जित महसुश गरेको बताएका छन् ।
‘अहिले दिल्लीस्थित नेपाली दूतावासको अतिथि कक्षमा बसेर घोत्लिँदै गर्दा अत्यन्त लज्जित र दुःखित छु। २१औं शताब्दीमा शरीरको कुनामा पलाएको ट्युमर सामान्य कि घातक हो छुट्याउन नसकेर विदेशमा छु ! सामान्य नागरिकको के होला?’, उनले ट्वीटरमा लेखेका छन् ।
नेपालका वरिष्ठ चिकित्सकहरूको सल्लाह बमोजिम आफू स्वास्थ्य उपचारकोलागि भारतको दिल्लीतर्फ गएको उनको भनाइ छ । तर कतिपयले भने नेपालको राजनीति तरल बनिरहेको बेला बाबुरामको भारत भ्रमणलाई अर्थपूर्ण रुपमा हेरेका छन् ।
पूर्वाधारविद् डा सूर्यराज आचार्यले यसबारे भनेका छन्, ‘जब जब नेपालको राजनीति तरल हुन्छ, हाम्रा वरिष्ठ नेताहरूलाई छिमेकमा उपचार गरिनु पर्ने रोग लाग्छ। यी ‘बिमार’ नेताहरू छिमेकको उपचारबाट ‘स्वस्थ्य’ भएर फर्केपछि देश बिमार हुन थाल्छ। आन्तरिक राजनीतिमा शक्ति आर्जन गर्न विदेशीको आशिर्वाद खोज्ने घातक प्रवृत्तिलाई जरै देखि परास्त नगर्दा सम्म नेपालमा राजनीतिक स्थिरता, सुशासन र विकास संभव देखिँदैन।’



