
दमक/ प्रहरी र सरकारी वकिलको कार्यालयले मोरङको उर्लाबारीमा भएको एक युवकको शंकास्पद मृत्युको घटनाको अनुसन्धानमा त्रुटी गरेको फेला परेको छ ।उर्लाबारी ५ का ३१ बर्षिय प्रविण बाँस्तोलाको गत पुष ५ मा असाधारण रुपमा भएको मृत्युलाई प्राकृतिक मृत्यु सावित गर्न प्रहरी र सरकारी वकिल समेतले प्रयत्न गरेको देखिन्छ ।वास्तोलाको शंकास्पद मृत्युबारे प्रहरीले गरेको अनुसन्धान प्रतिवेदनमा मृतकको फोटो नै अर्कै व्यक्तिको राखेको पाइउपछि अनुसन्धानमा त्रुटीको आशंका गरिएको हो । त्यस्तो आंशकामा पीडितका आफन्त र स्थानीयबासी आन्दोलित छन् ।आफन्तले दिएको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीले अनुसन्धान गरी रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालय मोरङमा बुझाएको थियो । सो घटना अनुसन्धानका लागि प्रहरीले उर्लाबारी– ६ का ३१ वर्षीय राजेश रणपहेलीलाई पक्राउ गरेको थियो । तर सरकारी वकिलको कार्यालयले मिसिल अध्ययनपछि मुद्दा चलाउन नमिल्ने भन्दै माघ २ गते रणपहेलीलाई हाजिरी जमानीमा छाडेको थियो ।
मृतककी बहिनी सदीक्षाका अनुसार मिसिलमा मृतक दाजुको भनेर तीनवटा फोटो राखिएको थियो, जसमध्ये एउटा फोटो अर्कै व्यक्तिको थियो । मृतकको भनी चाँदीको सिक्री लगाएका अर्कै व्यक्तिको फोटो राखिएको थियो । मृत अवस्थामा फेला पर्दा प्रवीणको गलामा सिक्री थिएन । यद्यपि प्रहरीले अनुहार नै नचिनिने व्यक्तिको तस्वीर घटना मुचुल्कामा संलग्न गरेको आफन्तको आरोप छ ।फोटो परिवर्तन गरेर अनुसन्धान नै कमजोर बनाई आरोपीहरु विरुद्ध मुद्दा नचलाएको आफन्तको आरोप छ । प्रवीणको मृत्यु शंकास्पद भन्दै आफन्तले पुस ९ गते उर्लाबारी– ६ का ३१ वर्षीय राजेश रणपहेलीसहितका विरुद्ध इलाका प्रहरी कार्यालय उर्लाबारीमा किटानी जाहेरी दिएका थिए । प्रहरीले अनुसन्धानमा लापरवाही गरेको भन्दै आइतबार दिनभर प्रदर्शन गरेका आफन्त र स्थानीयबासीले सोमबार पनि इलाका प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेलले फोटो मिस प्लेस भएको स्वीकार गरिसकेका छन ।सदीक्षाले आफूले फोटो किन बेग्लै राख्नुभयो भन्दा प्रहरीले हतार हतार मिसिलमा रहेको फोटो र कागजात परिवर्तन गरेको बताइन् । प्रहरीले अपराधीलाई संरक्षण गर्न लागेको उनको आरोप छ । पोष्टमार्टम रिपोर्टमा छटपटीका कारण मृत्यु भएको उल्लेख भएको बताउँदै उनले प्रहरीले अपराधीलाई संरक्षण गरेपछि न्याय माग्दै सडकमा आउनु परेको बताइन् ।
बन्यो छानविन समिति
अनुसन्धान प्रतिवेदनमा फोटो परिवर्तन भएको विषयमा जिल्ला प्रहरी कार्यालय मोरङले डीएसपी मानबहादुर राईको नेतृत्वमा छानविन समिति बनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी लोकदर्शन थापाले मिसिलमा राखिएको तीनमध्ये एउटा फोटो बेग्लै परेको देखिएपछि तत्काल परिवर्तन गरी छानविनका लागि टोली बनाइएको बताए । तथ्यमा फरक पर्ने गरी प्रमाण संकलन गरेको घटनामा संलग्नलाई उन्मुक्ति दिने गरी अनुसन्धान भएको देखिए कारवाही गरिने उनले बताए । फरेन्सिक जाँचको रिपोर्ट आएपछि थप तथ्यहरु खुल्ने प्रहरीले बताएको छ । गत पुस ४ गते घरबाट निस्किएका प्रवीणको मृत्यु भएको खबर भोलिपल्ट राति करिब ११ बजे आफन्तले पाएका थिए । आफन्तले प्रवीणको शव गोदावरी अस्पतालमा फेला पारेका थिए । प्रवीणको योजनावद्ध रुपमा हत्या गरिएको आफन्तको आरोप छ ।