उर्लाबारी। मोरङको उर्लाबारीमा शंकास्पद मृत्यु भएको एक युवकको घटनाको अनुसन्धानमा लापरवाही भएको भन्दै आफ्न्तले ईलाका प्रहरी कार्यालय उर्लाबारी परिसरमा नाराबाजी गरेका छन् ।

गत पुसमा मोरङका ३१ वर्षीय प्रविन बाँस्तोलाको मृत्यु भएको थियो । घटनापछि मृतकका बुबा प्रेमप्रसाद बास्तोलाले पुस २२ गते उर्लावारी–६ का राजेश रणपहेली विरुद्ध किटानी जाहेरी दिएका थिए ।

इलाका प्रहरी कार्यालय उर्लाबारीमा पुस ९ गते यो घटना ज्यान सम्बन्धी कसुर दर्ता किताबको ६७ नम्बरमा उल्लेख गरिएको थियो । तर, प्रहरीले फरेन्सिक प्रतिवेदन आउन ढिलाई भएको भन्दै पक्राउ गरिएका रणपहेलीलाई गत माघ २ गते नै छोडिदिएको थियो । प्रहरीले कानुन बमोजिम २५ दिन थुनामा राखेर अनुसन्धान गर्ने अवधी पूरा भएको भन्दै छोडेको हो ।

जिल्ला सरकारी वकिलको कार्यालयको निर्देशन बमोजिम प्रतिवादी छोडिएपछि घटनामा प्रहरीको मिलेमतो रहेको मृतकको परिवारको आशंका छ । अनुसन्धान प्रभावकारी नभएको र आरोपित व्यक्तिले उन्मुक्ति पाएको भन्दै आइतबार पीडित परिवार र स्थानीयवासीले जिज्ञासा माग्दा प्रहरीले लापरवाही गरेको पाइएको छ ।

मृतकका परिवार र आफन्तलाई चित्त नबुझेपछि पछिल्लो समय प्रहरीको अनुसन्धानमा शंकास्पद मृत्यु भएका व्यक्तिको मिसिलमा असम्बन्धित फोटो संलग्न गरेको भेटिएपछि प्रहरीले घटना ढाकछोप गर्न भुमिका खेलेको रहस्य खुलेको मृतकको परिवारको दाबी छ ।

मिसिलमा समावेस गरिएको मृतकको तस्बीरमा चाँदीको सिक्री लगाएको पाइएपछि स्थानीयले केहिबेर इलाका प्रहरी कार्यालय घेराउ गर्नुका साथै प्रहरी विरुद्ध नारावाजी पनि गरेका थिए । त्यहि क्रम सोमबार समेत पीडित र स्थानीयवासीले कायम राखेका छन् ।

मृतक फेला पर्दा उनको गलामा सिक्री थिएन । यद्यपि प्रहरीले अनुहार नै नचिनिने गलामा सिक्री लगाएको तस्वीर घटना मुचुल्कामा संलग्न गरेको पाएपछि स्थानीय आक्रोशित बनेका हुन् । सुरुमा प्रहरीले दोषी पत्ता लगाउने आश्वासन दियो । तर, अहिले घटनाका आरोपित सबैलाई छोडिदिएको छ ।

मृतक प्रविणका बुबा प्रेमले भने –४ गते घरबाट निस्किएको छोरो ५ गते ११ बजे तिर मर्यो अरे भनेर नचिनिएको नम्बरको फोनबाट खबर आयो । ‘कहाँ मर्यो, कसरी मर्यो कसले मार्यो ,हामी परिवारका सदस्यलाई केही थाहा भएन । प्रहरी पनि प्रत्येक पटक अलग अलग बयान दिन्छ । मर्ने त मर्यो तर न्याय मर्नु भएन नि’ – उनले भने । छोराको शव मृत अवस्थामा गोदावारी अस्पतालमा भेटिएपछि परिवारले प्रविणलाई त्यहाँसम्म कसले ल्यायो भन्ने सम्म थाहा छैन ।

प्रहरी नायव उपरीक्षकको संयोजकत्वमा छानविन
जिल्ला प्रहरी कार्यालय मोरङले घटनाको सम्बन्धमा छानविन गर्न प्रहरी नायव उपरीक्षक मानबहादुर राईको संयोजकत्वमा छानविन समिति बनाइएको छ । आइतबार स्थानीयले इलाका प्रहरी कार्यालय उर्लाबारी घेराउ गरेपछि प्रहरीले छानविन समिति गठन गरेको हो ।

जिल्ला प्रहरी कार्यालयले बास्तोला मृत्यु प्रकरणको अनुसन्धानमा घटनाको तथ्यहरुमा तात्विक फरक पर्ने गरि प्रमाण संकलन र नष्ट गरि कसुरदारलाई उन्मुक्ति दिने गैह्रव्यवसायिक काम गरेको पाइएमा अनुसन्धान अधिकृतलाई कारवाही गर्ने दावी गरिएको छ । प्रहरीले सम्बन्धित इलाका इन्चार्ज, अनुसन्धान अधिकृत, प्रहरी कर्मचारी समेतलाई कारवाही गरिने भन्दै घटनाको अनुसन्धान नयाँ प्रक्रियाबाट गर्ने जिल्ला प्रहरी कार्यालय मोरङले विज्ञप्तीमार्फत जानकारी दिइएको छ ।

घटनाको सुरुवाती फेहरिस्तदेखि अहिलेसम्मको अवस्थाको अनुसन्धान गर्ने गरि टोलि खटाइएको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए । प्रहरीले जिल्ला सरकारी वकिलको रायका आधारमा जिम्मा जमानीमा छोडेको हो, पूर्ण उन्मुक्ति दिएको हैन, उपरीक्षक खड्काले भने –घटनाको अनुसन्धानमा त्रुटी रहेको पाइएमा संलग्न प्रहरीलाई कारवाही हुन्छ ।

https://youtu.be/xc6Druhf_lo

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय