आइतबार सिरहाको अर्नामा गाउँपालिका–२ ब्रह्मपुरीको मसुरोको खेतमा हेलिकोप्टर अवतरण हुँदा छिमेकी गाउँसम्मका मानिसको भीड लाग्यो। यहाँ कुनै राजनीतिक कार्यक्रमका लागि नेता ओर्लिएका थिएनन्। यसै गाउँपालिकाको वडा नम्बर ४ लट्टाटोलबाट दुलाहा दिनेश यादव विवाहका लागि हेलिकोप्टर चार्टर्ड गरेर आएका थिए।

भीड दुलाहा हेर्न नभई हेलिकोप्टर हेर्न जम्मा भएको थियो। उत्साहित स्थानीयले लहलहाउँदो मसुरोको परवाहै नगरी हेलिकोप्टर अवतरणको अनुमति दिए। आइतबार दुलाहा दिनेशसहित बेहुला पक्षका पाँचजना चढेको हेलिकोप्टर मसुरोको खेतमा अवतरण भयो र सोही दिन राति दिनेशसँग ब्रह्मपुरीकी सपना यादव वैवाहिक जीवनमा बाँधिइन्। वैवाहिक कार्यक्रम सम्पन्न भएपछि दिनेशले दुलही सपनालाई सोमबार दिउँसो ४ बजे कैलाश हेलिकोप्टर सर्भिसेजकै हेलिकोप्टर चढाएर लट्टाटोल लगेका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अर्नामा गाउँपालिकामा हेलिकोप्टर चार्टर गर्ने दिनेश पहिलो व्यक्ति हुन्। दुलाहा दिनेश र उनका बुवा रामविलाससहित पाँचजना जन्ती हेलिकोप्टरमा आएका थिए। पेसाले किसान रामविलासका एक्ला छोरा हुन् दिनेश। उनी पेसाले मेडिकल प्रतिनिधि हुन्। आजको नागरिक दैनिकमा समाचार छ ।