स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको झण्डै चार वर्ष पुग्न थालेको छ । जनप्रतिनिधिको कार्यवधि सकिँदै गर्दा विभिन्न स्थानीय तहका प्रमुखले आफ्नो कार्यकालमा भएका उपलब्धि सार्वजनिक गर्न थालेका छन् । पर्वतको महाशिला गाउँपालिकाले अहिलेसम्म गरेका कामको श्वेतपत्र जारी गर्ने भएको छ । जनप्रतिनिधि निर्वाचित भएपछि गरिएका काम र गर्नुपर्ने बाँकी काम समेटेर श्वेतपत्र जारी गर्न लागिएको हो ।

जिल्लाकै फलेवास नगरपालिकाले झण्डै चार वर्षको अवधिमा प्राप्त गरेका उपलब्धिलाई सार्वजनिक गरेको छ । अहिलेसम्म नगरपालिकाले अगाडि सारेका र शुरुआत गरेका योजनामा ३३ वटा उपलब्धिलाई महत्वपूर्ण मानेको छ । फलेवासले शुरुआतमा सडक मापदण्ड निर्धारण र कार्यान्वयन, सेन्टर, भित्री र बाहिरी चक्रपथ निर्माण सम्पन्न गरेको छ भने मुख्य बस्तीको पाँच मिनेटको दूरीमा सडक सञ्जालीकरण विस्तार भएको जनाएको छ ।त्यसैगरी बहुचर्चित कालीगण्डकी जलाशययुक्त परियोजनाको अवधारणा फलेवास आफैँले अघि सारेको दाबी गरेको छ । यो अहिले राष्ट्रिय योजनामा समावेश भई सम्भाव्यता अध्ययनको क्रममा छ । त्यसैगरी नगरपालिकाले नागरिकको जीवनस्तर उकास्नका लागि बिरुवा हाम्रो फल तपाईँको कार्यक्रम, टनेल हाम्रो उत्पादन तपाईँको कार्यक्रम, ज्येष्ठ नागरिकसँग नगरपालिका कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यसैगरी अन्यत्र सिफारिस गर्नुपर्ने प्रसूति तथा गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा, क्लिन फलेवास ग्रिन फलेवास अभियान, श्रमिक पेन्सन योजना तथा श्रमिक कल्याणकारी कोषसमेत प्रभावकारीरूपमा अघि बढाइएको नगरप्रमुख पदमपाणि शर्माले जानकारी दिनुभयो । फलेवासले पर्यटनको क्षेत्रमा पनि काम अघि बढाएको छ । डहरे–देउरालीमा ओपनजू र मनमोहन शान्तिवाटिका निर्माणमा जुटेको छ भने विभन्नि गाउँमा घरवास प्रवद्र्धन र पदमार्ग निर्माणका काम भइरहेका छन् ।

फलेवासमा नगर अस्पताल शुभारम्भ भइसकेको छ भने औद्योगिक क्षेत्र, रङ्गशाला, सिटीहल, प्रमुख प्रशासकीय भवन निर्माणका लागि निःशुल्क जग्गा प्राप्तिको काम पनि सकिएको नगरपालिकाको उपलब्धिका रूपमा राखिएको छ । त्यसैगरी ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र पूर्वाधार निर्माण, एक वडा एक घरेलु औजार उद्योग स्थापनालाई पनि नगरले जोड दिएको छ । एक वडा एक महिला उद्योग, एक वडा एक कृषि फार्म, बृहत् कृषि फार्म, बहुवर्षे नर्सरी प्रवद्र्धन, एक वडा एक पशु फार्मजस्ता कार्यक्रमसमेत प्रभावकारी बनेको नगरप्रमुख शर्माले बताउनुभयो ।

शिक्षाको क्षेत्रमा कक्षा ३ सम्म अङ्ग्रेजी माध्यम र प्रविधिमैत्री शिक्षा प्रवद्र्धन गरिएको तथा विद्यार्थीका लागि दिवा खाजा र विद्यालयका लागि बस सेवा कार्यक्रम तथा छात्रालाई स्यानिटरी प्याडको व्यवस्था तथा नमूना विद्यालय कार्यक्रम शुरु गरिएको नगरप्रमुख शर्माले जानकारी दिनुभयो । नगरभित्र विद्युत्को समस्याका रूपमा रहेका काठेपोललाई फलाम तथा स्टिल पोलमा रुपान्तरण गरिसकिएको, एकीकृत बस्ती विकासको योजना अघि सारिएको उहाँले बताउनुभयो ।वडा कार्यालयमा सहजरूपमा राजश्व सङ्कलनको व्यवस्था मिलाइएको र बाँझो जमिनमा खेती गर्नेलाई अनुदान दिन व्यवस्थासमेत गत आर्थिक वर्षबाट शुरुआत गरिएको छ । त्यसैगरी प्रतिफलमा आधारित अनुदान वितरण गर्न थालिएको छ । जसमा दूध, बाख्रा, स्थानीय जातका कुखुरापालनमा प्रोत्साहनस्वरुप कृषकलाई अनुदान दिन थालिएको छ । शून्य कालोपत्र भएको नगरपालिकामा सडक कालोपत्र, स्तरोन्नति, सडक पुल, झोलुङ्गे पुल निर्माणलाई समेत नगरले जोड दिएको छ भने संसदीय मोडलमा नगरसभा सञ्चालन र निर्णय कार्यान्वयन गर्दै आइरहेको नगरप्रमुख शर्माको उपलब्धिका रुपमा हेरिएको छ ।

फलेवास नगरपालिकालाई देशकै नमूना नगरपालिकाका रूपमा परिचित गराउन सफल भएको शर्माले बताउनुभयो । जनप्रतिनिधि निर्वाचित भएपछि ४६ वटा ऐन कानून निर्माण र कार्यान्वयन गरिएको छ । त्यसैगरी वडा कार्यालय, स्वास्थ्यचौकी भवन, विद्यालय भवन तथा भौतिक संरचना दु्रतगतिमा निर्माण गरिएको छ । युवा रोजगार तथा खेल पूर्वाधार निर्माण भइरहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले अर्को उपलब्धिमा एक घर एक धारामार्फत खानेपानी योजना वितरणलाई तीव्रता दिएको र सिँचाइको क्षेत्रमा साना तथा मझौला सिँचाइमार्फत उत्पादन र उत्पादकत्व वृद्धि गर्नमा जोड दिइएको नगरप्रमुख शर्माले बताउनुभयो । जनप्रतिनिधि निर्वाचित भएपछि समग्रमा हालसम्मको अवधि उपलब्धिमूलक बनेको नगर उपप्रमुख मञ्जु अधिकारीले जानकारी दिनुभयो ।