काठमाडौं : विवेकशील साझा पार्टीले अदालतको फैसलाको सम्मान गर्दै नैतिकताका आधारमा प्रधानमन्त्री र राष्ट्रपतिलाई तत्काल राजीनामा दिन आग्रह गरेको छ। पार्टीका प्रवक्ता शरदराज पाठकद्वारा जारी विज्ञप्तिमा विगतमा आफूले काम गर्न नसकेको स्वीकारोक्तिका आधारमा प्रधानमन्त्रीले अब कुनै पनि खाले अवाञ्छित चलखेल नगरी सांसदबाट नयाँ सरकार गठनको मार्ग प्रशस्त गर्नुपर्ने उल्लेख छ।
संविधानको रक्षा गर्ने दायित्वलाई रतिभर ख्याल नगरी प्रधानमन्त्रीका हरेक असंवैधानिक कदमलाई रबर स्ट्याम्प सरह सदर गर्दै साथ दिएकी राष्ट्रपति विद्यादेवी भण्डारीले पनि तत्काल पदबाट राजीनामा दिनुपर्ने विवेकशील साझाको माग छ। विवेकशील साझाले राजिनामा नदिए राष्ट्रपति पद र संस्थाको साख लगातार गिराएको कसुरमा महाभियोग लगाएर भण्डारीलाई पदमुक्त गर्न संसद्मा रहेका सम्पूर्ण दल र सांसदहरूलाई आह्वान गरेको छ।विवेकशील साझा पार्टीले प्रतिनिधिसभा पुन:स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाले एउटा व्यक्तिको दम्भ र सनकका भरमा संविधान र व्यवस्थामाथि भएको प्रहार निस्तेज भएको टिप्पणी गरेको छ। अधिनायकवादी शैलीमा मुलुक हाँक्ने कुत्सित मनोकांक्षाको अवसान भएको विवेकशील साझाको ठकर छ।
विज्ञप्तिमा मुलुक गम्भीर दुर्घटनाबाट जोगिएको उल्लेख गरिएको छ। ‘अदालतको कदमले संविधानवादको रक्षा भएको छ, विधिको शासनको पुनर्बहाली भएको छ र मुलुक गम्भीर दुर्घटनाबाट जोगिएको छ।’ विज्ञप्तिमा भनिएको छ,‘यो सँगै हाम्रो न्यायालय कुनै पनि खाले दबाब र प्रभावबाट मुक्त रहँदै स्वतन्त्र निर्णय गर्न सक्षम छ भन्ने महत्त्वपूर्ण सन्देश पनि प्रवाह भएको छ।’
पार्टीले असंवैधानिक ढङ्गले गरिएका सम्पूर्ण नियुक्तिहरू खारेज गर्न माग गरेको छ। ‘पछिल्ला राजनीतिक घटनाक्रममा भण्डारीको भूमिका र नेपालको राष्ट्रपति संस्थाको आजसम्मको अभ्यासको गम्भीर पुनरावलोकन गर्दा राजनीतिक दलमा असम्बद्ध व्यक्तिले मात्र उक्त पदको गरिमा र अपेक्षित मर्यादा कायम अक्षुण्ण राख्न सक्ने स्पष्ट देखिएको हाम्रो ठहर छ।’ विज्ञप्तिमा भनिएको छ,‘पछिल्लो समय असंवैधानिक ढङ्गले गरिएका सम्पूर्ण नियुक्तिहरू खारेज गर्न पनि विवेकशील साझा पार्टी माग गर्दछ।’










