प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला सामान्य रहेको र आफूलाई केही प्रभाव नपर्ने बताएका छन् ।

माटोको डिजिटल नक्सा सार्वजनिक गर्न बुधवार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले पदमा रहुञ्जेल राम्रो काम गर्ने बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘अघि पद्माजीले कस्तोकस्तो कुरा गर्नुभयो । हुन त ठीकै कुरा हो, कहीँ सधैँ मन्त्रीमा रहने होइन । पदमा रहुञ्जेल राम्रो काम गर्न हो । मैले पनि प्रधानमन्त्री रहुञ्जेल राम्रो काम गर्ने हो । हिजोको अदालतको फैसलाले प्रभाव त पारेको होइन ? यो सामान्य कुरा हो,’ ओलीले भने ।

ओलीले सर्वोच्चको फैसलालाई लिएर चिन्ता गर्नु नपर्ने बताए ।

‘जबसम्म बाँचिन्छ, तबसम्म राम्रो काम गर्ने हो । अहिलेसम्मको मेरो कुराबाट केही फरक पाउनुभयो र ? फरक हुनुपर्ने आवश्यकता छैन,’ ओलीले भने ।

ओली बोल्नुअघि कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा अर्यालले अहिलेको राजनीतिक घटनाक्रमले गर्दा कति समय सरकारमा रहन्छु... भनेकी थिइन् ।

ओलीले कठीन परिस्थितिमा पनि देश निर्माणको आफ्नो संकल्प पूरा गर्ने प्रतिबद्धता जनाए ।

साथै उनले प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' र माधव नेपालप्रति पनि व्यंग्य गरे ।

‘मेरा केही भाइहरूले लड्डु ख्वाइख्वाइ गरे, खुसी भएर । के जिते मलाई थाहा छैन । लड्डु खाएर के पाउँछन् मैले हेर्नुछ,’ ओलीले भने, ‘मेरो विचारमा भोलिपर्सिदेखि फेरि राजीनामा माग्नुहुन्छ कि जस्तो लाग्छ । राजीनामा देऊ, राजीनामा देऊ !’

--लोकान्तर बाट