बिष्णुप्रसाद पोखरेल
दमक/ झापामा औधोगिक क्रान्तिको रुपमा लिईएको चीन नेपाल मैत्री औधोगिक पार्क शिलन्यासको तयारी पुरा भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार विहान ११ बजे कमल गाँउपालिका ६ झर्कामा शिलन्यास गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली सहित पार्क शिलन्यासका लागि आउनेहरुको स्वागतका लागि दमक चोक झकिझकाउ बनाईएको छ । चीन र नेपालको झण्डाहरुले दमक चोकलाई सजाईएको छ । ब्यानरहरु पनि राखिएको छ ।
पार्कका अध्यक्ष गोविन्द थापाका अनुसार पार्क शिलन्यासको सम्पूर्ण तयारी पुरा भएको छ । आउने अतिथिहरुको स्वागतमा स्थानीयले र दमक तथा आसपासका स्थानीय तहहरुले कुनै पनि कमजोरी हुन नदिने तवरले काम गरिरहेको थापाले जनाए ।
२०७६ साल असोज १६ गते नेपाल लगानी बोर्ड, चिनीया लगानीकर्ता, ‘चाईना नेपाल फे्रण्डसिप इन्डस्ट्रियल पार्क’ र औद्योगिक क्षेत्र व्यवस्थापनबीच परियोजना समझदारी सम्पन्न भएपछि तत्कालै शिलन्यासको तयारी भएपनि यो रोकिएको थियो ।
प्रारम्भिक चरणमा ६४ अरब लगानी स्वीकृत भएर यसको डिपिआर पनि पुरा भएको जनाईएको छ । यहि डिपिआरका आधारमा अब शिलन्यासपछि उद्योगहरु स्थपनाको काम शुरु हुनेछ । यस क्षेत्रको मात्र नभएर नेपालमा नै यो औधोगिक क्रान्तिको शुरुवात हुने अध्यक्ष थापाले दाबी गरेकाछन् ।
दमक नगरपालिका, कमल गाउपालिका तथा गौरादह नगरपालिकास्थित तोकिएको चारकिला भित्र २१०० विगाहमा औद्योगिक क्षेत्र स्थापना गर्ने नेपाल सरकारबाट २०७२ साल चैत १ गते निर्णय भएपछि जग्गा अधिग्रहणको काम शुरु भएर अहिले अन्तिम चरणमा पुगेको छ ।



