
काठमाडौं । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा संवैधानिक परिषदसम्बन्धी अध्यादेश जबर्जस्ती पेश गरिएको भन्दै प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले बैठक कक्षमा नाराबाजी गरेको छ ।
बैठक नियमित कार्यसूचीमा प्रवेश गर्नासाथ नेकपाको प्रचण्ड–माधव पक्षले आपत्ति जनाउँदै बैठक कक्षबाट बाहिरिएको थियो ।
त्यस लगत्तै सभामुख अग्निप्रसाद सापकोटाले बैठक अगाडि बढाउँदै अध्यादेश पेश गर्नका लागि कानुनमन्त्री लीलानाथ श्रेष्ठलाई अनुमति दिएपछि नेपाली काँग्रेसका सांसदहरु आफ्नो आसनबाट उठेका थिए ।
सभामुख सापकोटाले बोल्न समय दिएपछि काँग्रेस सचेतक पुष्पा भुसालले सरकारद्वारा संविधानको भावना विपरीत ल्याएको अध्यादेशको समर्थन गर्न नसक्ने बताएकी थिइन् ।
त्यसका बाबजुद सभामुखले मन्त्री श्रेष्ठलाई अध्यादेश पेश गर्न समय दिएपछि काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले अध्यादेश फिर्ता लिन सभामुखमार्फत सरकारसँग माग गरेका थिए ।
सभामुख सापकोटाले यसबारेमा सरकारलाई ध्यानाकर्षण गराउँदै पुनः अध्यादेश पेश गर्नका लागि अनुमति दिएपछि भने काँग्रेस सांसदहरु रोस्टममा पुगेर नाराबाजी गरेका थिए ।