काठमाण्डाै – सर्वोच्च अदालतले ऋषि कट्टेललको नेकपालाई आधिकारिकता दिएसँगै केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भविष्य के हुन्छ भन्ने प्रश्न उठेको छ । सर्वोच्चले नेकपा ऋषि कट्टेलकै भएको फैसला गरेको र यसअघि (साविक) का नेकपा एमाले र माओवादी केन्द्र अरू व्यक्तिकै नाममा रहेको अवस्थामा ओली र प्रचण्डको पार्टी कुन हुने भन्ने विषयमा पनि चासो बढेको छ ।

तर सर्वोच्च अदालतले फैसलामा साविककै नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी, लेलिनवादी र नेकपा माओवादी केन्द्रको नाम नै रहने जनाएको छ । २०७५ सालको जेठ तीन गतेअघि निर्वाचन आयोगमा दर्ता भएको आधारमा ओली र प्रचण्डको साविककै पार्टी अर्थात् नेकपा एमाले र माओवादी केन्द्र बिउँतिने सर्वोच्चको फैसलामा उल्लेख छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

फैसलामा भनिएको छ, ‘निर्वाचन आयोगका दुवै निर्णय बदर भएपश्चात साविकमा निर्वाचन आयोगमा राजनीतिक दलका रुपमा दर्ता भएका नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग–अलग राजनीतिक दलका रुपमा साविककै अवस्थामा कायम रहने हुँदा यी राजनीतिक दलले एकिकरण गर्ने भएमा राजनीतिक दलसम्बन्धी ऐन तथा निर्देशन विपरित नहुने गरी निर्णय गरेर अविलम्ब निर्वाचन आयोगमा उपस्थित हुन जानकारी दिइ शीघ्र कानुन बमोजिम आवश्यकअनुसार निर्णय गर्नू/गराउनू भनि विपक्षीमध्येका निर्वाचन आयोगका नाममा परमादेश जारी गरिदिएको छ ।’