काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गर्ने सर्वोच्च अदालतको फैसलाको पुनरावलोकनमा जाने निष्कर्ष दाहाल–नेपाल समूहले निकालेको छ। सर्वोच्चको फैसलापछि कानुन व्यवसायीहरुसँगको परामर्शमा जुटेको दाहाल–नेपाल समूहले सर्वोच्चको फैसला पुनरावलोकनमा जानुको विकल्प नभएको निष्कर्ष निकालेको हो।
नेकपा स्रोतका अनुसार आज अपरान्ह तीन बजे पेरिसडाँडामा बोलाएको स्थायी कमिटी बैठकबाट पुनरावलोकनमा जानेबारे औपचारिक निर्णय गर्नेछ।
सर्वोच्चको निर्णय राजनीतिक भएको र आफूहरुलाई न्याय नगरेका कारण फैसला पुनरावलोकन गर्न आवश्यक भएको पूर्व नेकपा एमालेका नेता घनश्याम भुसालले बताउनुभयो। उहाँले भन्नुभयो, ‘सर्वोच्चको निर्णय राजनीतिक हो भन्ने स्पष्ट भइसकेको छ। पुनरावलोकनमा हामी जान्छौँ। तर त्योभन्दा पहिला सबै साथीहरुको राय लिन आवश्यक छ।’



