काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि पहिलेकै अवस्थामा फर्किने भएका छन्।

सर्वोच्च अदालतको आइतबारको फैसलाले एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई मान्यता नदिएपछि दुई पार्टी ब्यूँतिएका हुन्। (एमाले)को केन्द्रीय कार्यालय धुम्बाराही र माओवादी केन्द्रको कार्यालय पूर्ववत् पेरिसडाँडा नै हुने भएको छ। एकतापछि दुवै ठाउँमा नेकपाका केन्द्रीय कार्यालय रहेको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

धुम्बाराहीस्थित एमालेको कार्यालयको नाम र साइनबोर्ड मंगलबार फेरिने भएको कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए। 'सर्वोच्चको आदेश कार्यान्वयनका लागि हामी भोलिदेखि पार्टीको कार्यालयको नाम र साइनबोर्ड परिवर्तन गर्ने तयारीमा रहेका छौँ', उनले भने, 'मुख्यालयमा पर्सिसम्म एमाले नाम परिवर्तन गरिसक्छौँ। जिल्लास्तरमा पनि एमालेको कार्यालयका भएको भवन एमाले कार्यालय रहन्छ।'

उनले जिल्लामा अहिले नै कार्यालयको नाम परिवर्तन गर्न निर्देशन नदिएको भन्दै तर सर्वोच्चको फैसलापछि जिल्लास्थित पहिलेको एमाले कार्यालयमा धमाधम साइनबोर्ड फेरिन थालेको बताए। २०७५ साल जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्र मिली नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गठन भएको थियो। तर त्यसअघि नै निर्वाचन आयोगमा ऋषि कट्टेल अध्यक्ष रहेको नेकपा नामक दल दर्ता रहेकाले सोही नामको अर्को दल दर्ता गर्न नमिल्ने सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पहिलेकै अवस्थामा ब्यूँताएको हो।