काठमाडौं, २५ फागुन । काठमाडौंको धुम्बाराहीस्थित साविक नेकपाको केन्द्रीय कार्यालयबाट सो पार्टीको बोर्ड हटाएर आज (मंगलबार) नेकपा एमालेको बोर्ड राखिएको छ । आज बिहान नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लेखिएको बोर्ड हटाएर नेपाल कम्युनिष्ट पार्टी (एमाले) लेखिएको बोर्ड राखिएको हो ।
सर्वाेच्च अदालतले एमाले र माओवादी केन्द्र एकता गरी बनेको नेकपाको वैधानिकता बदर गरिदिएको पर्सीपल्ट आज केन्द्रीय कार्यालयमा बोर्ड परिवर्तन गरिएको हो । निर्वाचन आयोगमा पहिले दर्ता ऋषि कट्टेलको नेकपालाई मान्यता दिँदै सर्वाेच्चले आइतबार सत्तारूढ नेकपाको कानुनी मान्यता बदर गरिदिएपछि यसमा एकीकृत एमाले र माओवादी केन्द्र सोमबारबाट अलग्गिइसकेका छन् ।
पहिले एमालेको केन्द्रीय कार्यालय त्यहीं थियो । माओवादी केन्द्रसँग एकता गरी नेकपा बनेपछि बोर्ड परिवर्तन गरिएको थियो। अहिले फेरि छुट्टिएपछि एमालेकै बोर्ड राखिएको हो । धुम्बाराही पार्टी कार्यालयबाट आज देशभरको पार्टी कार्यालयहरुमा एमालेको बोर्ड राख्न निर्देशन दिइएको छ ।










