काठमाण्डौ – आज महाशिवरात्रि पर्व मनाइँदैछ ।
भगवान शिवको पूजाआजाको लागि देशभरका शिवालयमा भक्तजनको दिनभरजसो भीड लागेको थियो ।
काठमाण्डौको पशुपतिनाथ मन्दिरमा बिहानैदेखि अहिलेसम्म भक्तजनको भीड लागिरहेको छ । अहिलेसम्म पशुपतिनाथ मन्दिरमा ८ लाखभन्दा धेरै भक्तजनहरुले दर्शन तथा पूजाआजा गरेका पशुपति क्षेत्र विकास कोषले जनाएको छ । आज राति १२ बजेसम्म नै दर्शनार्थीका लागि मन्दिर खुला गरिने कोषले जनाएको छ ।
आज राति १२ बजेसम्म दर्शन गर्ने दर्शनार्थीको संख्या १० लाखसम्म पुग्ने अनुमान कोषले गरेको छ । पर्वको अवसरमा ३० लाख भक्तजनहरु पशुपति क्षेत्र पुगेको कोषका कार्यकारी निर्देशक डाक्टर घनश्याम खतिवडाले उज्यालोलाई जानकारी दिनुभयो ।
भक्तजनले लाइन बसेको आधा घण्टाभित्रै दर्शन गर्न पाउने व्यवस्था गरिएकाले भक्तजनले सहज रुपमा मन्दिर दर्शन गरेको निर्देशक खतिवडाले बताउनुभयो । कोरोनाको जोखिम कायमै रहे पनि भक्तजन मास्कलगायत जनस्वास्थ्यको मापदण्ड अपनाएर दर्शन एवं पूजा आराधनाका लागि शिवालयमा गएका हुन् ।



