पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले नाम परिवर्तन गर्ने भएको छ। अध्यक्ष प्रचण्डको प्रस्तावमा माओवादी केन्द्र हटाएर नेपाली कम्युनिस्ट पार्टी राखिने भएको हो।आइतबार पेरिस डाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कमिटी बैठकमा नाम परिवर्तन गरेर नेपाली कम्युनिस्ट पार्टी राख्‍ने प्रस्ताव आएको एकजना केन्द्रीय सदस्यले बताए। फागुन २३ मा सर्वोच्च अदालतले नेकपा खारेज गरिदिएर साविककै कायम गरिदिएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक बुधबार र बिहीबार पेरिस डाँडामै बसेको थियो। उक्त बैठकमै माओवादी केन्द्र हटाएर नेपाली कम्युनिस्ट पार्टी मात्रै राख्ने सहमति जुटाइएको थियो। त्यही सहमति अनुसार नेपाल कम्युनिस्ट पार्टी नाम  केन्द्रीय समितिमा प्रस्ताव भएको हो।

नाम परिवर्तनको प्रस्तावमाथि केन्द्रीय समितिमा छलफल हुनेछ। उक्त छलफलपछि माओवादी केन्द्रले आफूलाई नेपाली कम्युनिस्ट पार्टी बनाउने  तयारी गरेको छ। बृहत् वाम एकता अभियान चलाउने बताइरहेका प्रचण्ड ऋषि कट्टेल र नेत्रविक्रम चन्द विप्लवलाई पनि तान्न सहज हुने गरी नाम राख्न लागेका हुन्। ऋषि कट्टेलको नेकपालाई सर्वोच्च अदालतले मान्यता दिएको छ भने विप्लवले पनि नेपाल कम्युनिस्ट पार्टीकै नामबाट आफ्ना भूमिगत गतिविधि गरेका थिए। फागुन २१ गतेयता उनी खुला राजनीतिमा फर्किएका छन्।