दमक/ झापा गाउँपालिका वडा नं ७ मदरगाछको एक परिवारका दुई नाबालिका छोरी कलिलो उमेरमै आमाको साथ टुटेपछि सहाराबिहिन भएका छन । २२ बर्षिया बुने सेनका २ र ४ बर्षका छोरीहरु रुपा र बर्षा सेन गरीबिका कारण असमयमै भएको आमाको निधनले सहाराबिहिन भएका हुन ।
आमा बुने सेनको पाठेघरमा भएको संक्रमणका कारण गत बुधबार निधन भएको थियो । गरीबिकै कारण पाठेघरमा भएको समस्याको उपचारमा ढिलाइँ हुँदा ति महिलाको २२ बर्षकै उमेरमा मृत्यु भएको हो । दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्दै आएका उनका पति कालुराम सेनको स्वास्थ्य अवस्था समेत कमजोर छ ।
फेसबुक मार्फत जुटदै थियो सहयोग
बुने सेनको उपचारमा आर्थिक अभाव हुँदा भोग्नुपरेको पीडा कम दर्दनाक छैन । भाञ्जी रञ्जनाले उनको स्वास्थ्य समस्या थाहा पाएपछि उपचारको प्रयास शुरु गरिन । आफूपनि आर्थिक रुपले सामान्य अवस्थामा रहेकी भाञ्जी रञ्जनाले उपचारमा सहायता जुटाउन फेसबुकको सहारा लिइन ।
फेसबुकको माध्यमबाट गाउँमा पहिलादेखिनै जान पहिचान भएका सहयोगी भावना राख्ने दमकका काजी राउतसंग सहयोग जुटाउने अभियान सञ्चालनका बिषयमा कुराकानी भयो । तर उनको उपचारका लागि विर्तामोडमा सम्भव भएन । विर्तासिटी अस्पतालबाट अन्यत्रै लैजान भनेपछि बुने सेनलाई यसै साता विराटनगरको नोबेल अस्पताल लगिएको थियो । त्यहाँ फेसबुक मार्फत काजी राउतले दमकमा सञ्चालन गरेको अभियानमा जुटेको रकमबाट उनको उपचार त शुरु भयो तर चिकित्सकहरुले उनलाई निको पार्न सक्ने अवस्था नरहेको दर्शाए । फेसबुक मार्फत जुटेको करिब २ लाख रुपैयाँ मध्ये आधा जति उपचारमा सकियो तर बुने सेनलाई बचाउन सकिएन – अभियानमा जुटेका राउतले निष्कर्ष न्यूजसंग भने । राउतले गरीबिका कारण आमालाई दुधे बालक उमेरमा गुमाएका छोरीहरु रुपा र बर्षाको भविष्य के हुने भन्ने चिन्ता आफूहरुलाई रहेको बताए । उनले भने – कसै गरे आमालाई बचाउन सकिएन अब छोरीहरुको भविष्यको चिन्ता छ ।



