नयाँदिल्ली — गत मंसिर ९ देखि हराइरहेकी चन्द्रागिरि नगरपालिका बस्ने १६ वर्षीया सीता (नाम परिवर्तन) लाई चार दिनपछि काठमाडौंबाट करिब १३ सय किलोमिटर टाढा भारत मध्यप्रदेशको सिहोरबाट स्थानीय प्रहरीले उद्धार गर्‍यो ।किशोरीले प्रहरीलाई बताएअनुसार उनको दुई वर्षअघि टिकटकमार्फत महेश नामका एक भारतीय युवकसँग सम्पर्क भएको थियो । त्यसपछि उनीहरू फेसबुकमा साथी बने । ती युवकले किशोरीलाई विवाह गर्नेसम्मको प्रलोभन दिएर भोपाल बोलाएका थिए । प्रहरीका अनुसार अनुसन्धानका क्रममा युवकले केटीसँग सम्पर्क गर्न बेग्लै ‘पिटर’ नाममा फेसबुक आईडी नै खोलेको पाइयो । युवक हाल थुनामा छन् ।
प्रयोगका जोखिमबारे थाहा नहुँदा विभिन्न प्रलोभन देखाई फसाउने प्रवृत्ति बढ्दो
‘मानव तस्करीका पछिल्ला घटनामध्ये ७० प्रतिशतभन्दा बढी सामाजिक सञ्जालबाटै’

चितवन घर भएकी २८ वर्षीय रमिला (नाम परिवर्तन) गत माघ ४ मा ८ वर्षीया छोरीसहित घरबाट बेपत्ता भइन् । सैलुनमा व्यस्त श्रीमान्ले घर फर्किएपछि मात्रै श्रीमती र छोरी बेपत्ता भएको चाल पाए । तत्कालै प्रहरीलाई खबर गरे । सामाजिक सञ्जालमा तस्बिरसहित सूचना राखे । प्रहरीले तत्काल खोजी सुरु गर्‍यो । मोबाइलबाट भएको सम्पर्कलाई पछ्याउँदै जाँदा भारत उत्तर प्रदेशको बरेलीस्थित एक नम्बरसँग सम्पर्क जोडियो । त्यहाँको एउटा घरमा छापा मार्दा आमाछोरी दिल्लीमा रहेको खुल्यो ।घर छाडेको एक महिनापछि दुवै जनालाई दिल्ली प्रहरीले स्थानीय भजनपुराबाट उद्धार गर्‍यो । छोरीसहित ती महिलाको दिल्लीसम्मको यात्रापछाडि सामाजिक सञ्जाल नै कारण रहेको खुल्यो । दुई वर्षअघि उनी फेसबुक र इन्स्टाग्राममार्फत एक भारतीय युवकसँग जोडिएकी थिइन् । ती युवकले उनलाई विवाहको प्रलोभन दिएर दिल्ली बोलाएका रहेछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जयसपुर बाँकेकी १७ वर्षीया मीना (नाम परिवर्तन) पनि गत साउन अन्तिम साता घरबाट एकाएक बेपत्ता भइन् । परिवारमा रुवाबासी भयो । स्थानीय प्रहरीले खोजी थाल्यो । घरबाट हराएको करिब एक सातापछि उनको दिल्ली–जयपुर हाइवेबाट उद्धार भयो । प्रहरीलाई उनले दिएको विवरणअनुसार केही महिनादेखि फेसबुकमार्फत उनी एक भारतीय युवकसँग सम्पर्कमा थिइन् । विवाह गर्ने आश्वासन दिएपछि उनी युवकले भनेअनुसार बस चढेर दिल्ली आइन् । दिल्लीमा भेट पनि भयो । त्यसपछि ती युवकले उनलाई ‘जयपुर जाऔं’ भने । तर मीनाले मानिनन् । जयपुर जान नमानेपछि ती युवकले उनलाई दिल्ली–जयपुर हाइवेमै छाडिदिएका थिए ।विराटनगर घर भएकी १७ वर्षीया सुष्मा (नाम परिवर्तन) गत वर्ष असोजमा घर छाडेर हिँडिन् । तीन महिनासम्म उनीबारे केही पत्तो लागेन । त्यसपछि उनलाई राजस्थानको अल्बरबाट प्रहरीले उद्धार गर्‍यो । सुष्मा हराउनुको कथा पनि उस्तै थियो । फेसबुकमार्फत भारत जोगवनीका एक युवकको सम्पर्कमा आएकी थिइन् सुष्मा । उनै युवकले सुष्मालाई अल्बर पुर्‍याएका थिए ।

नेपाली किशोरी/युवती/महिलाहरूका लागि सामाजिक सञ्जाल ‘धराप’ बनेका यी प्रतिनिधि घटना मात्र हुन् । सामाजिक सञ्जाल प्रयोग गर्दाका जोखिमबारे जनचेतनाको अभाव हुँदा यस्ता घटना बढ्दो क्रममा छन् । सरोकारवालाहरू पछिल्ला वर्ष मानव तस्करहरूले सामाजिक सञ्जाललाई गतिलो हतियारका रूपमा प्रयोग गर्न थालेको दाबी गर्छन् । संयुक्त राष्ट्रसंघअन्तर्गतको लागूऔषध तथा अपराधसम्बन्धी आयोगले केही महिनाअघि सार्वजनिक गरेको एक प्रतिवेदनले पनि पछिल्लो १० वर्षमा मानव तस्करीमा सामाजिक सञ्जालको प्रयोग उल्लेख्य मात्रामा बढेको देखाएको छ । परिचय लुकाउन पाइने भएकाले पनि मानव तस्करीका लागि सामाजिक सञ्जाल गतिलो हतियार बनेको प्रतिवेदनको निष्कर्ष छ ।सामाजिक सञ्जालमा राखिने व्यक्तिगत विवरणले पनि मानव तस्करलाई आफ्नो जालो विस्तार गर्न सहज बनाएको प्रतिवेदनमा दाबी गरिएको छ । मानव तस्करीविरुद्धको अभियानमा सक्रिय रहँदै आएको केआई नेपालका भारत प्रतिनिधि नवीन जोशी पनि मानव तस्करीका पछिल्ला घटनाहरूमध्ये ७० प्रतिशतभन्दा बढीमा सामाजिक सञ्जाल नै प्रयोग भएको पाइएको दाबी गर्छन् ।‘पहिले गाउँमै पुग्ने तस्करहरू अहिले भने सामाजिक सञ्जालमार्फत किशोरीहरूदेखि यौन हिंसाको सिकार भएका महिलाहरूलाई अनेकन प्रलोभन देखाएर फसाउने प्रवृत्ति देखिएको छ,’ जोशीले भने ।

प्रविधि र सञ्चारको सुविधा विस्तारसँगै मानव तस्करहरूले नेपाली महिलालाई फसाउन पनि सामाजिक सञ्जालकै बढी साथ लिन थालेको जोशीको निष्कर्ष छ ।दिल्लीस्थित नेपाली दूतावासका काउन्सिलर वरिष्ठ प्रहरी उपरीक्षक वीरेन्द्र बस्याल पनि मानव तस्करीका लागि सामाजिक सञ्जालको दुरुपयोग बढेको स्विकार्छन् । बस्यालका अनुसार स्थानीय निकायहरूले आफ्ना नागरिकहरू को, कहाँ गए भन्ने अभिलेख राख्ने गरेको खण्डमा सामाजिक सञ्जाललगायत विभिन्न माध्यम हुँदै गरिने मानव तस्करी धेरै हदसम्म नियन्त्रणमा आउनेछ ।केआई नेपालका जोशी भने सरकोरवाला निकायले जनचेतना बढाउने र सीमामा कडाइ गर्नुपर्ने बताउँछन् । ‘सामाजिक सञ्जालको प्रयोगको जोखिमका बारेमा अभिभावकहरूलाई थाहा हुनुपर्छ । आफ्ना छोराछोरी र परिवारका सदस्यले सामाजिक सञ्जालको प्रयोग कसरी गरिरहेका छन् भन्नेमा पनि अभिभावकले ध्यान दिनुपर्‍यो । त्यो नगर्दा मानव तस्करले सफ्ट तार्गेट पाइरहेका छन्,’ जोशीले भने । यसका लागि कुनै एउटा निकायभन्दा पनि राज्यस्तरबाटै पहल हुनुपर्नेमा उनको जोड छ ।