काठमाडौं । सर्लाहीको सदरमुकाम मलंगवामा सुशील यादवको हत्या आरोपमा पक्राउ परेका आरोपीले ‘इन्कारी बयान’ दिएका छन् ।

चैत १२ मा २५ वर्षीय यादवको हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय सर्लाहीले कमल पण्डित उर्फ विमलकान्त पाठक र अशोक झालाई पक्राउ गरेको थियो ।

मलंगवा–९ का स्थानीय ४५ वर्षीय कमल पण्डित ‘बाबा’ हुन् । ४० वर्षीय आशोक भारतिय नागरिक हुन् । अशोक ‘बाबाको सहयोगी’ भएको बताइएको छ । उनीहरुले हत्या गरेको स्विकारेका छैनन् ।

रौतहटको चन्द्रनिगाहापुरमा प्रहरीले उनीहरुको पोलिग्राफ जाँच गरेको थियो । पोलिग्राफ परीक्षणबाट आरोपीले झुट बोलेको रिपोर्ट आएको सर्लाहीका एसपी सन्तोष सिंह रठौरले रातोपाटीलाई बताए । उनले भने–‘आरोपीले इन्कार गरेका छन् तर, हामी प्रमाण जुटाउँदै छौं ।’

चैत १२ मा टाउको काटेको अवस्थामा मलंगवा–९ स्थित खेतमा सुशीलको शव फेला परेको थियो । जिल्ला अस्पताल मलंगवामा मृतकको पोष्मार्टम गरिएको छ । पोष्टमार्टमको रिपोर्ट आएको छैन ।

मृतक र आरोपी लागुऔषध प्रयोगकर्ता हुन् । बिरामी भएको बहाना गरेर आरोपीले प्रहरीसँग बोल्न आनाकानी गरेका छन् । कमल पण्डितकी छोरीहरुसँग मृतकको सम्बन्ध रहेको अनुसन्धानबाट थाहा भएको छ ।

मृतक र कमलको बिचमा आर्थीक लेनदेन थियो । छोरीहरुलाई ‘गलत नजर’ले हेरेको आक्रोश र आर्थिक विवादमा हत्या गरेको हुनसक्ने अनुसन्धान अधिकृतहरुको प्रारम्भिक निष्कर्ष छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय