सरकारले एकैपटक ठूलो संख्यामा भन्सार एजेन्ट थप गर्न लागेको छ । २० वर्षदेखि नियुक्त हुन नसकेको एजेन्टको इजाजतका लागि सोमवार सार्वजनिक सूचना प्रकाशन गरिएको छ ।

अर्थ मन्त्रालय अन्तर्गतको भन्सार विभागले सार्वजनिक सूचना प्रकाशन गर्दै ६६० एजेन्ट थपको तयारी गरेको हो । विभागले भन्सार एजेन्टको इजाजतपत्र लिन अनलाइनमार्फत दरखास्त आह्वान गर्न सकिने जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

२ दशकदेखि भन्सार एजेन्ट थप हुन नसक्दा एकैपटक ठूलो संख्यामा आवेदन माग गरिएको विभागका महानिर्देशक यमलाल भुसालले जानकारी दिए ।

उनका अनुसार भन्सार नियमावली २०६४ को नियम ३७, उपनियम (१) बमोजिम भन्सार एजेन्टको इजाजत पत्रका लागि २१ वर्ष उमेर पूरा भई तोकिएको योग्यता पुगेका इच्छुक व्यक्तिले विभागको वेबसाइटमार्फत अनलाइन दरखास्त दिन सक्नेछन् ।

परीक्षा केन्द्र काठमाडौंमा मात्र हुनेछ । दरखास्त भर्न दस्तुर ३ हजार लाग्ने विभागको भनाइ छ । २०७८ वैशाख ५ गतेसम्म दरखास्त दिने समय रहेको छ भने दोब्बर दस्तुर तिरी १२ गतेसम्म आवेदन दिन सकिने छ ।

इच्छुक उम्मेदवार स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने छ । कम्प्युटरसम्बन्धी कम्तीमा ३ महिनाको आधारभूत तालिम लिएको हुनुपर्नेछ ।