नेकपा माओवादी केन्द्रले नेकपा नाम ऋषि कट्टेललाई दिँदै नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दर्ता गराएको छ । मंगलबार माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डसहितका नेताहरु सर्वोच्च पुगेर निवेदन दर्ता गराएका हुन् । निवेदन दताएपछि माओवादी अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतले एमाले–माओवादी ब्यूँत्याउने गरि गरेको फैसला सच्याउनेमा आफू आशावादी र विश्वस्त रहेको बताउनुभयो । सर्वोच्च अदालतले रिट निवेदकको माग भन्दा बाहिर गएर एकतावद्ध भएको पार्टी विभाजित गर्ने फैसला गरेको उहाको भनाई छ । पार्टीका वरिष्ठ नेताहरुसहित कानून व्यवसायीको उपस्थितिमा पुनरावलोकन निवेदन दर्ता गरेको प्रचण्डले जानकारी दिनुभयो ।
उहाले पार्टीको नामसम्बन्धी रिटमा आएको फैसला अस्वभावीक र राजनीतिक प्रकृतिको भयो भनेर यसअघि नै भनेको र अहिले सबै पक्षको सल्लाहमा पुनरावलोकन निवेदन दर्ता गरेको जिकिर गर्नुभयो । रिट निवेदकको पनि एकतावद्ध भएका दल विभाजित होस् भन्ने चाहना नरहेको बताउँदै प्रचण्डले सर्वोच्चको फैसला राजनीतिक रहेकाले सच्याउनु पर्ने धारणा राख्नुभयो । निवेदन दर्ताका लागि अध्यक्ष प्रचण्डसहित माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, वर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुषाल लगाएत सर्वोच्च पुगेका थिए । सर्वोच्चले नाम विवादको फैसला सुनाउने क्रममा गत फागुन २३ गते नेकपा भंग गर्दै एमाले र माओवादी केन्द्र ब्यूँत्याएको थियो ।










