राजनीति

राजनीतिक यात्रालाई फराकिलो बनाएर अघि बढौं : मुख्यमन्त्री राई


  काठमाडौँ   सवालनेपाल   २०७७ चैत्र १७, १५:३३

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूहरु राजनीतिक यात्रालाई फराकिलो बनाएर अघि बढ्न तयार रहेको बताएका छन्। उनले मुलुकको हीतका लागि फराकिलो सोंच राखेर अघि बढ्न सबैमा आह्वान पनि गरेका छन्। मुलुकमा समृद्धि र विकास तथा जनताका चाहना पूरा गर्नका लागि साझा आकांक्षा प्राप्तिको बाटोलाई सबैले थप फराकिलो बनाउन आवश्यक रहेको उनको भनाइ छ। नेपाल पत्रकार महासंघ प्रदेश १ को नवनिर्मित कार्यालय भवनको उद्घाटन एवं ‘मेरो पत्रकारिता’ पुस्तक विमोचन समारोहमा बोल्दै मुख्यमन्त्री राईले आफूहरु निरन्तर रुपमा प्रदेशको समृद्धि र विकासतर्फ केन्द्रीत भइरहेको जानकारी दिए।

द्वन्द्व र हिंसाको विश्वासमा रहेका शक्तिहरु राजनीतिको मूल धारमा आइसकेको भन्दै उनले अशान्तिले कसैलाई पनि फाइदा नपुग्ने बताए। ‘मुलुकले राजनैतिक स्थायित्व चाहेका बेला अशान्ति र द्वन्द्वले कसैलाई फाइदा पुग्दैन’, राईले भने, ‘राजनैतिक स्थायित्वसँगै शक्तिशाली सरकार निर्माण गरेर मुलुकलाई सही दिशा दिँदै अगाडि बढाउनुपर्छ भन्ने जनताको चाहना पनि छ।’ जनताको चाहना र मुलुकलाई समृद्धिको दिशातर्फ झन् केन्द्रित बनाउन राजनीतिक यात्रालाई सबैले फराकिलो बनाएर अघि बढ्नुपर्ने आवश्यकता रहेको उनले औंल्याए। राईले सहमति र सहकार्यमा मात्रै मुलुकको विकास सम्भव रहेको भन्दै फराकिलो ढंगले त्यही हिसाबको सोंच राखेर अघि बढ्न सबैमा आग्रह गरेका हुन्। मुलुक संघीयतामा गएर सरकार निर्माण भएपछि प्रदेशमा थुप्रै विकास निर्माणका काम भएको उनको भनाइ छ।

राईले मुलुक संघीयतामा प्रवेश गरेपछि प्रदेश सरकारको लगानीमा धेरै सडक तथा अन्य संरचना र भौतिक पूर्वाधार निर्माणका कामहरु भएको पनि बताए। संघीयताकै कारण विकास निर्माणका कामलाई तीव्र रुपमा अघि बढाउन सम्भव भएको उनको भनाइ छ।  मुख्यमन्त्री राईले विकास, निर्माण र समृद्धिका पक्षमा सञ्चारकर्मीले कलम चलाउनुपर्नेमा जोड दिएका छन्। निष्पक्ष र स्वतन्त्र ढंगले कलम चलाएर सकारात्मक आलोचना गर्दै समाजलाई सही दिशातर्फ अघि बढाउन सञ्चारकर्मी एवं सञ्चार संस्थाको महत्वपूर्ण भूमिका हुने उनले बताए। प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले पत्रकारिकता पेशालाई थप मर्यादित र व्यवस्थित बनाउन आवश्यक रहेको बताए। ‘अहिलेको पत्रकारिकतालाई जनताले आशा गरेको क्षेत्रका रुपमा विकास गर्न आवश्यक छ’, प्रदेशका सामाजिक विकास मन्त्रीसमेत रहेका उनले भने, ‘जसले समाज कहाँ छ र कता लैजाँदा राम्रो हुन्छ भन्ने निक्र्योल गर्नसक्नु पर्छ।’

कार्यक्रममा प्रदेश १ का ३४ जना अग्रज पत्रकारको अनुभव र चिनारीलाई समेटेर प्रकासन गरिएको ‘मेरो पत्रकारिता’ नामक पुस्तकको पनि विमोचन गरिएको छ। नेपाली पत्रकारितामा प्रदेशभित्र रहेर अग्रज पत्रकारले पुर्‍याएको योगदानलाई पुस्तकमा समेटिएको महासंघका प्रदेश १ अध्यक्ष विक्रम लुइँटेलले बताए। उनका अनुसार विभिन्न कालखण्डमा मुलुकमा भएका राजनैतिक परिवर्तनमा निर्वाच गरेको भूमिकादेखि लिएर पत्रकारहरुले भोग्नु परेका दुःख र पीडा तथा पार गरेका अनेक आरोह एवं अवरोहलाई पुस्तकमा उतार्ने प्रयास गरिएको छ। अग्रज पत्रकारहरुले मुलुकको परिवर्तन तथा पत्रकारिताको विकासका लागि निर्वाह गरेको भूमिकालाई जीवन्त राख्न पुस्तकले सहयोग गर्ने लुइँटेलले बताए। महासंघका प्रदेश महासचिव विवेक गौतमले प्रदेश सरकारको ७६ लाख रुपैयाँको लागतमा भवन निर्माण सम्पन्न भएको बताए। विराटनगर महानगरपालिका–५ गणेश चोकनजिक भवन निर्माण गरिएको जानकारी उनले दिए। गौतमका अनुसार महानगरपालिकाले उपलब्ध गराएको जग्गामा प्रदेश सरकारले सहयोग गरेपछि दुई तले भवन निर्माण सम्भव भएको हो।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु